अमेरिकी अनुदान रोकिँदा एचआइभी जोखिम बढ्यो, सरकारले जिम्मा लिनुपर्छ : सुनिल बाबु पन्त

voiceofgandaki

काठमाडौं ।  अमेरिकी सरकारको स्वास्थ्य सम्बन्धी अनुदान रोकिँदा एचआइभी/एड्स संक्रमणको जोखिम बढेको भन्दै संविधानसभाका पूर्वसदस्य एवं ‘मायाको पहिचान नेपाल’ का कार्यकारी निर्देशक सुनिल बाबु पन्तले रोकथामको जिम्मा नेपाल सरकारले लिनुपर्ने बताएका छन् । ३८ औँ विश्व एड्स दिवसका अवसरमा सोमबार साँझ माइतीघरमा आयोजित दीपप्रज्वलन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

पन्तले अमेरिकी अनुदान बन्द हुँदा लैंगिक तथा यौनिक अल्पसंख्यक, सुईबाट लागुऔषध प्रयोग गर्ने र यौनकर्मी लगायतलाई दिइने अत्यावश्यक सेवा प्रभावित भएको जानकारी दिए । ‘यसले जोखिमता बढाएको छ,’ उनले भने, ‘एचआइभी संक्रमण बढ्दो छ भन्ने चिन्तासहित अब नेपाल सरकारले नै अत्यावश्यक रोकथामका उपायहरू, सामग्रीहरू आफ्नो जिम्मामा लिएर नागरिकलाई बचाउन अग्रसर हुनुपर्छ भन्ने माग हामी राख्न चाहन्छौँ ।’

‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको छ । सोही अवसरमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको अधिकार क्षेत्रमा क्रियाशील संस्था ‘मायाको पहिचान नेपाल’ ले एचआइभी/एड्सका कारण ज्यान गुमाएकाहरूको सम्झनामा दीपप्रज्वलन गरेको हो ।

कार्यक्रममा पन्तले ३८ वर्षअघिदेखि नै एचआइभी/एड्सप्रतिको नकारात्मक धारणा, लाञ्छना र जोखिम न्यूनीकरण गर्न विश्वभर एकजुट भएर यो दिवस मनाउने गरिएको स्मरण गरे । एचआइभी अझै हराएर नगएको भन्दै उनले नेपालसहित विश्वभरका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमा रहेको जोखिम कम गर्नुपर्नेमा जोड दिए ।

नेपालमा एचआइभी संक्रमणको अवस्थाबारे पछिल्लो तथ्यांकले ३४ हजार ३ सय ३७ जनामा संक्रमण रहेको देखाएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार कुल संक्रमितमध्ये ७७ प्रतिशत मात्र एन्टिरेट्रोभाइरल (एआरभी) उपचारमा संलग्न छन् । तथ्यांक अनुसार नेपालमा हरेक दिन १ दशमलव ७ जनामा एचआइभी संक्रमण पुष्टि भइरहेको छ ।

नेपालले सन् २०३० सम्ममा एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेको छ । जसअनुसार ‘९५–९५–९५’ को लक्ष्य हासिल गर्नुपर्ने हुन्छ । यसको अर्थ ९५ प्रतिशत संक्रमितले आफ्नो अवस्थाबारे थाहा पाउनुपर्ने, तीमध्ये ९५ प्रतिशत उपचारमा हुनुपर्ने र उपचाररत ९५ प्रतिशतको शरीरमा भाइरल लोड न्यून हुनुपर्ने हो । हाल सरकारले ६४ जिल्लाका ९६ एआरटी केन्द्रबाट निःशुल्क एआरभी उपचार र ७ सयभन्दा बढी स्वास्थ्य संस्थाबाट परीक्षण सेवा दिइरहेको छ ।

विश्वव्यापी तथ्यांक हेर्दा सन् २०२४ को अन्त्यसम्म करिब ४ करोड ८ लाख व्यक्तिमा एचआइभी संक्रमण रहेको अनुमान छ । विश्वमा दैनिक ३ हजार ६ सय मानिस संक्रमित हुने गरेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया