पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा २७ महिनादेखि सम्पर्कविहीन छन् । स्वास्थ्य उपचारको कारण देखाउँदै उनी लामो समयदेखि वडामा अनुपस्थित भएका हुन् । बिरामी भएको भन्दै कार्यवाहकको जिम्मेवारी दिएर हिँडेका थापा हाल अमेरिकामा रहेको बुझिएको छ ।
कार्यक्षेत्रमा नभए पनि उनले नगरपालिकाबाट पाउने सेवा सुविधा भने लिइरहेको खुलेको छ । अमेरिका पुगेपछि पनि पालिकाले उनलाई २०८० भदौदेखि २०८१ असार मसान्तसम्मको सेवा सुविधा भुक्तानी गरेको थियो । वडाध्यक्ष थापाको बैंक खातामा यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, अतिथि सत्कार, समन्वय सहजीकरण, बैठक तथा अनुगमन लगायतका शीर्षकमा २ लाख ७६ हजार १९० रुपैयाँ जम्मा भएको तथ्यांक छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले आफू हाजिर भएपछि वडाध्यक्ष थापा नगरको सम्पर्कमा नरहेको बताए । उनका अनुसार २०८१ साउनदेखि भने थापाको सेवा सुविधा रोकिएको छ ।
थापाले २०८० भदौ १५ गते वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर विदेश लागेका थिए । उनले आर्थिक वर्ष २०८०–८१ को चलानी नम्बर १६७ को पत्र मार्फत आफू उपचारका लागि जानुपर्ने भएकाले दैनिक कामकाज गर्न नसक्ने जनाएका थिए । प्रत्यायोजित अधिकारको दुरुपयोग नहुने गरी कार्यवाहकको जिम्मेवारी दिएको पत्र थमाएर उनी हिँडेका हुन् ।
यता प्रशासन, अदालत र नगरपालिका समेतलाई बोधार्थ दिएर वडा सदस्यलाई जिम्मेवारी सुम्पेका थापाको अवस्थाबारे नगरपालिका नै बेखबर जस्तै देखिएको छ । नगर प्रमुख तुलसीराम रेग्मीले थापाको बारेमा नगरपालिकालाई यकिन जानकारी नभएको बताए ।
कार्यवाहक अध्यक्षको भूमिकामा रहेकी लिलावती पौडेलले आफू वडाध्यक्ष थापाको प्रतीक्षामा रहेको बताइन् । 'कहिलेकाहीँ बिरामी हुँदा वा व्यक्तिगत कारणले बिदा बस्नुपरे पनि जनताको काम रोकिन्छ कि भन्ने चिन्ता लाग्छ,' उनले भनिन्, 'वडाकै काममा व्यस्त भएर कतै जाने फुर्सद समेत पाएकी छैन ।'
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थापाले विदेश जाने समयमा पार्टीसँग पनि कुनै छलफल नगरेको पाइएको छ । नेपाली कांग्रेसका नगर सभापति सुरजकुमार अधिकारीले थापाले पार्टीसँग सल्लाह नगरी कदम चालेको बताए ।
१४ मङ्सिर २०८२, शनिवार ०२:२६ मा प्रकाशित