पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पुनःनिर्मित भवनको उद्घाटन गरिएको छ । मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरणको काम सम्पन्न भएपछि श्रीकृष्ण धर्माचार्य अनन्तश्री विभूषित जगदगुरु आचार्य कृष्णमणि महाराजले मन्दिर उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै कृष्णमणि महाराजले धार्मिक शास्त्रहरू धेरै भए पनि तिनको सार एउटै भएको बताए । ‘विभिन्न देवीदेवताका स्वरूप भए पनि परमात्मा एउटै हुन्,’ उनले भने । ज्ञान सहज रूपमा प्राप्त भए पनि यसको सुरुवात नवतनपुरी धामबाट भएको भन्दै उनले धाममा पुनर्निर्माणको काम चलिरहेकाले सहयोगका लागि पोखरेलीलाई आग्रह गरे । पर्यटकीय सहर पोखरामा मन्दिर निर्माणमा साथ दिने सबैलाई उनले धन्यवाद दिए ।
कार्यक्रममा १०८ पुरुषोत्तम महाराजले श्रीकृष्ण प्रणामी धर्म निजानन्द समुदायको उद्गम स्थल श्री ५ नवतनपुरी धामको पुनर्निर्माण भइरहेको जानकारी दिए । उनले पोखराको मन्दिरलाई जस्तै धामलाई पनि सहयोग आवश्यक रहेको बताउँदै त्यसका लागि समितिका अध्यक्ष मोहन ढकालसँग सहकार्य गर्न आग्रह गरे । सोही अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समिति पोखराका अध्यक्ष मोहनप्रसाद ढकालले मन्दिरको पुनर्निर्माण सकिएसँगै अब नवतनपुरी धामको पुनर्निर्माणका लागि आफ्नो तर्फबाट २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । समितिको तर्फबाट पनि धामलाई सहयोग हुने उनको भनाइ थियो ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्माले यो नेपालको पहिलो धार्मिक संस्था भएको बताए । उनले भने, ‘नेपालभर समितिका २ सय ५८ वटा इकाइ छन् । त्यसमध्ये पोखराको समिति पनि एक हो ।’ मन्दिर पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति उनले आभार प्रकट गरे । त्यस्तै, निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य पुरुषोत्तम रेग्मीले मन्दिरलाई आवश्यकता अनुसार सौन्दर्यकरण र पुनर्निर्माण गरी सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए ।
स्थानीय सरकारको तर्फबाट बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले मन्दिरको प्रवर्द्धन र पुनर्निर्माणमा वडाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए । वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्म संरक्षक परिषद् सचिवालय संयोजक राघवराज रेग्मी, केन्द्रीय उपाध्यक्ष बद्रीप्रसाद ओली, विभाग सदस्य श्यामदास महाराज, मन्दिरका पुजारी लिलाम्बर सापकोटा, धर्म प्रचारिका जमुना सुवेदी, जिल्ला अध्यक्ष कृष्णप्रसाद ढुंगाना, सल्लाहकार घनश्याम बानिया, बलराम सुवेदी, पोखरा विश्वविद्यालयका निवर्तमान डीन डा दयाराज ढकाल, विष्णु पहारी, समाजसेवी रामजीप्रसाद बास्तोला, युवा परिषद् कास्की अध्यक्ष तोयनाथ सापकोटा, महिला समिति अध्यक्ष विष्णु पराजुली, इन्द्रपुरी टोल विकास संस्थाका अध्यक्ष भुपेन्द्र गिरीको उपस्थिति थियो । साथै, एसके डान्स सेन्टरका सञ्चालक राम लामा, संगीतकार बालकृष्ण आचार्य र सुजन बन्जरा लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण बरालले गरेका थिए ।
६ मङ्सिर २०८२, शुक्रबार ०५:५३ मा प्रकाशित