प्रतिनिधिसभा निर्वाचन: समानुपातिकको बन्द सूची आज र भोलि बुझाइँदै
voiceofgandaki
१३ पुस २०८२, आईतबार
काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्द सूची बुझाउने कार्यतालिका आजबाट सुरु भएको छ। निर्वाचन आयोगले बन्द सूची पेस गर्ने कार्यका लागि सबै तयारी पूरा भएको जनाएको छ।
आयोगको कार्यतालिका अनुसार १३ र १४ पुसमा दलले समानुपातिकतर्फको बन्द सूची आयोगमा बुझाउनुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। दलले पेस गरेका बन्द सूचीमाथि १५ देखि २० पुससम्म आयोगले छानबिन गर्ने उनले बताए। छानबिनपछि २१ देखि २७ पुससम्म दललाई सूची सच्याउन वा मिलाउन समय दिइनेछ। २८ पुसदेखि ३ माघसम्म दलले सच्याएर पठाएको सूची ठिक भए/नभएको जाँच गरिने आयोगले जनाएको छ। ४ माघमा बन्द सूची प्रकाशन गरिने र २० माघमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।
समानुपातिक प्रणालीतर्फको निर्वाचनमा भाग लिन १०० वटा राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत दल दर्ता गराएका छन्। निर्वाचन आयोगमा दल दर्ता गराएका ती दलले मात्र १३ र १४ पुसमा बन्द सूची बुझाउन पाउनेछन्।