पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मणिपालको प्राथमिक उपचार केन्द्र, कर्मचारीलाई स्वास्थ्य परीक्षण सुविधा

voiceofgandaki

पोखरा ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । नेपाल मणिपाल शिक्षण अस्पतालले विमानस्थल परिसरमा प्राथमिक स्वास्थ्य उपचार केन्द्र सञ्चालन गर्ने भएको हो ।

मणिपाल अस्पताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयबीच भएको सहमतिअनुसार विमानस्थलमा आवतजावत गर्ने यात्रु वा अन्य कसैलाई आकस्मिक स्वास्थ्य समस्या आइपरे तत्काल प्राथमिक उपचार प्रदान गरिनेछ । यसका लागि अस्पतालले आवश्यक स्वास्थ्यकर्मी, औषधि तथा उपकरणसहितको उपचार केन्द्र स्थापना गर्नेछ ।

यो सुविधाले विमानस्थलमा यात्राका क्रममा हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्दै यात्रुहरूलाई सुरक्षित महसुस गराउने विश्वास दुवै पक्षले लिएका छन् ।

यसका साथै, दुई संस्थाबीच अर्को महत्त्वपूर्ण सम्झौता पनि भएको छ । अस्पतालले सञ्चालनमा ल्याएको ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजना’ अन्तर्गत विमानस्थलमा कार्यरत कर्मचारीहरूले विशेष कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा पाउनेछन् ।

उक्त सहमतिपत्रमा मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सञ्चालन महाशाखा प्रमुख एवं उपनिर्देशक जसोदा सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया