पोखराका ट्याक्सी व्यवसायीले सुरु गरे मोबाइल एप ‘मुभइन’

voiceofgandaki

पोखरा । केही महिनाअघि सम्म राइड सेयरिङको कडा विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायी अहिले आफैं प्रविधिको बाटो समातेका छन् । लामो समयदेखि ‘ट्याक्सीले मनपरी भाडा लिन्छन्’ भन्ने आलोचना खेपिरहेका व्यवसायीहरूले अब त्यसको विकल्प प्रस्तुत गर्दै ‘मुभइन’ नामको मोबाइल एप सार्वजनिक गरेका छन् ।

एप सार्वजनिक कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल उत्साहित देखिन्थे । उनले भने, ‘मुभइनसँगको सहकार्यले पोखराको ट्याक्सी सेवामा ठूलो परिवर्तन ल्याउनेछ । हामीलाई प्रविधिको विरोधी भनेर हेरिएको धारणा अब गलत साबित हुन्छ ।’

यही कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले विगतका बानी प्रष्ट पार्दै भने, ‘अब चोकमा बसेर हाउ मच भनेर भाडा बार्गेनिङ गर्नुपर्ने छैन । एपले त्यो संस्कार अन्त्य गरिदिनेछ ।’ उनले यसलाई नयाँ पुस्तासँग मेल खाने, सम्मानजनक व्यवसायको आधारका रूपमा वर्णन गरे ।

हाल पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन्, जसमा १ हजारभन्दा बढी ‘मुभइन’मा आबद्ध भइसकेका छन् । यसले यात्रुलाई आफ्नै घरको गेटबाटै ट्याक्सी बोलाउने सुविधा दिने अपेक्षा गरिएको छ । पोखराकै आइटी इन्जिनियर रविन तिवारी र उनको ४५ जनाको टोलीले झन्डै एक वर्ष लगाएर एप तयार पारेका हुन् ।

‘यो बच्चा जन्मिसकेको छ, अब हुर्काउने जिम्मा हाम्रो काँधमा छ’ भन्दै तिवारीले यसको भावी यात्रा सहज नहुने तर फलदायी हुने विश्वास व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रमेश पराजुलीले ‘मुभइन नेपाल’लाई व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वका साथ अघि बढाइएको बताए । उनका अनुसार प्रारम्भिक चरणमा एप प्रयोगका लागि चालक वा ग्राहक दुवैलाई कुनै शुल्क तिर्नु पर्दैन । चालकहरूले एपमा सक्रिय देखिन न्यूनतम ५०० रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर त्यो रकम काटिने छैन । ‘हामीले यो एपलाई यात्रु र व्यवसायीबीचको दूरी घटाउने माध्यमको रूपमा अघि सारेका छौँ’, उनले भने ।

भविष्यमा नाफाको ठूलो हिस्सा व्यवसायीहरूको हकहितमै खर्च गरिने घोषणा गर्दै पराजुलीले अन्य ट्याक्सी कम्पनीहरूलाई पनि यसमा जोडिन आग्रह गरे ।

एप सार्वजनिक कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला पनि सहभागी थिए । उनले प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारीमार्फत हुने राइड सेयरिङलाई हटाउन माग गरे । ‘चार पाङ्ग्रे सवारीलाई मात्र यसमा समेट्नुपर्छ’, उनले भने, ‘व्यवसायी प्रविधिमैत्री बन्न तयार भएको सन्देश यही एपमार्फत स्पष्ट भएको छ ।’

याद रहोस्, यसै वर्ष जेठ महिनामा मन्त्रिपरिषदले राइड सेयरिङ सम्बन्धी नियम पारित गरेपछि व्यवसायीहरूले एक सातासम्म यातायात ठप्प पारेर देशव्यापी आन्दोलन गरेका थिए । त्यही व्यवसायी अहिले प्रविधि आत्मसात गर्दै यात्रु र सेवाप्रदायकबीचको विश्वास पुनः स्थापित गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया