लेखक संघ गण्डकीको अध्यक्षमा दीपक समीप, १९ सदस्यीय कार्यसमिति निर्विरोध

voiceofgandaki

पोखरा ।  नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखरामा सम्पन्न अधिवेशनले समीपको नेतृत्वमा आगामी कार्यकालका लागि सर्वसम्मत समिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) र महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की) चयन भएका छन् । त्यस्तै, महासचिवमा सञ्जीव पौडेल (कास्की), सचिवमा मोती च्वाईं (पर्वत) र कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ) चुनिएका छन् ।


समितिको सदस्यहरूमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाई (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन् । संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो ।

नवनिर्वाचित अध्यक्ष समीपले विविध साहित्यिक गतिविधमार्फत संस्थालाई क्रियाशील बनाउँदै गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवादसमेत दिए ।

कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, केन्द्रीय सचिव मिलन समीर, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी, कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया