मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत
कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।
गए रातिको वर्षासँगै
कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि
अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
कागबेनीस्थित कागखोलाबाट
करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि
सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले
जानकारी दिनुभयो । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति
त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो ।
मुस्ताङमा कागबेनी–कोरला
सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । लामाले माथिबाट
ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने जानकारी दिनुभयो । उहाँले
तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने
काम भएको बताउनुभयो ।
मुस्ताङमा गए रातिको
वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक
रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । रासस