पोखरा । कास्की प्रहरीले फेवातालको सिरान क्षेत्रस्थित सिमसार (वेटल्यान्ड) पुर्ने व्यवसायी युवराज खतिवडालाई पक्राउ गरेको छ। सोमबार दिउँसो सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा रोक्न गएको प्रहरी टोली र रिपोर्टिङमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई हाल पोखरा–५ बस्ने ३७ वर्षीय खतिवडाले प्रहरीको निर्देशन अटेर गरेका थिए। प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि उनले अर्को चाबी ल्याएर जबर्जस्ती गाडी सञ्चालन गर्ने प्रयास गरेका थिए। सो क्रममा उनले त्यहाँ पुगेका पत्रकार सुमन ढुंगानालगायतलाई समेत दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी भएको जानकारी दिए। ‘प्रहरीले रोक्दा रोक्दै अटेर गरी उल्टै दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं,’ डिएसपी बस्नेतले भने, ‘उनीविरुद्ध जाहेरी दर्ता गरी मंगलबार अदालतमा उपस्थित गराउने तयारी छ।’ प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका टिपरसमेत नियन्त्रणमा लिएको छ।
खतिवडा यसअघि पनि पटकपटक फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यमा संलग्न हुँदै आएका थिए। पोखरा महानगरपालिका र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि उनले लुकीछिपी तथा बलमिच्याइँ गरेर सिमसार पुर्ने काम गर्दै आएको स्थानीय बताउँछन्।
अतिक्रमणको चपेटामा फेवाताल
पछिल्लो समय फेवातालको मुहान र सिमसार क्षेत्र तीव्र अतिक्रमणको चपेटामा परेको छ। सर्वोच्च अदालतले २०७५ सालमै फेवातालको ६५ मिटर मापदण्डभित्रका संरचना हटाउन र तालको संरक्षण गर्न परमादेश जारी गरेको थियो। तर, फैसला कार्यान्वयनमा तदारुकता नदेखाइँदा ‘ल्यान्ड माफिया’ ले सिमसार पुर्दै घडेरी बनाउने क्रम रोकिएको छैन।
वर्षायाममा बाढीसँगै आउने गेग्रान र हिउँदमा मानवीय अतिक्रमणका कारण तालको क्षेत्रफल खुम्चिँदै गएको छ। पुण्यप्रसाद पौडेल संयोजकत्वको सीमाङ्कन समितिले तालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११२५५ रोपनी) कायम गरेको थियो। तर, तालको सिरान क्षेत्रमा रातारात डोजर चलाएर सिमसार पुर्ने र खेतीयोग्य जमिन भन्दै दाबी गर्ने क्रम बढेको छ।
प्राकृतिक रूपमा पानी छान्ने र ताललाई जीवित राख्ने सिमसार क्षेत्र नै पुरिएपछि तालको अस्तित्व संकटमा पर्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्। सिमसार पुरिँदा जलचरको बासस्थान नष्ट हुनुका साथै तालको पारिस्थितिक प्रणालीमै असर परेको छ। व्यवसायी खतिवडाको गिरफ्तारीले सिमसार अतिक्रमण गर्नेहरूलाई केही हदसम्म निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।
८ पुस २०८२, मङ्गलबार ०६:४८ मा प्रकाशित