सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन’ : विनोदले जिते थाइल्यान्ड टुर, समिरलाई स्कुटर

voiceofgandaki

काठमाडौं ।

काठमाडौंस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा सञ्चालन गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरूलाई पुरस्कृत गरेको छ । शनिबार आयोजित एक समारोहबिच सिटी सेन्टरले बम्पर उपहारसहित अन्य उपहार विजेतालाई प्रदान गरेको हो ।

योजना अन्तर्गतको बम्पर उपहारमा कपनका विनोद चौलागाईंले ५ दिन ६ रातको थाइल्यान्ड टुर प्याकेज जितेका छन् । त्यस्तै भक्तपुरका समिर बादेले हिरोको स्कुटर हात पारेका छन् । ६० दिनसम्म सञ्चालन भएको यो योजनामा २८ हजार जना सहभागी भएका थिए । तीमध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् ।

अन्य विजेताले बाल्ट्राको वासिङ मेसिन, टिभी, फ्रिज, अल्टिमाका इयर बड, म्युजिक सिस्टम, सफारी तथा क्रोकोडायलका ब्याग र लगेज जितेका छन् । त्यस्तै विभिन्न स्टोरहरूबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले ग्राहकसँगको अन्तरक्रिया र सद्भाव बढाउन यस्ता कार्यक्रम गरिँदै आएको बताए । उनले आगामी दिनमा अझै बृहत् रूपमा सेवा र सुविधासहितका योजना ल्याउने जानकारी दिए ।

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदीप पालले पुरस्कार हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले सेवाग्राही लाभान्वित हुनुका साथै ब्रान्ड प्रवर्धनमा टेवा पुगेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहकार्य गर्ने उनले प्रतिबद्धता जनाए ।

सिटी सेन्टरको आयोजना र इभेन्ट नेपालको सहकार्यमा भएको कार्यक्रममा विभिन्न कम्पनीको सहभागिता थियो । सिटी सेन्टरमा बालबालिकाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्टसहितको सुविधा छ । यहाँ विभिन्न ब्रान्डका सामग्री सुपथ मूल्यमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया