गण्डकीमा मानसिक समस्याले दैनिक २ जनाको मृत्यु, तर छैन उपचार गर्ने अस्पताल

voiceofgandaki

पोखरा ।  गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको संख्या दिनानुदिन बढ्दै गए पनि रोग निदान र उपचारका लागि विशिष्टीकृत अस्पतालको अभाव खड्किएको छ । प्रदेशमा मानसिक समस्याकै कारण दैनिक औसतमा २ जनाले आत्महत्या गर्ने गरेको डरलाग्दो तथ्यांक भए पनि यहाँ एउटा पनि मानसिक अस्पताल छैन ।

प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गए पनि सुविधायुक्त अस्पताल नहुँदा चुनौती थपिएको बताए । उनले भने, 'प्रदेशमा हालसम्म मानसिक अस्पताल छैन । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा कठिनाइ छ ।' सुविधा नहुँदा दूरदराजका बिरामी महँगो खर्च व्यहोरेर काठमाडौंका अस्पतालमा जान बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयले पोखरामा विशिष्टीकृत अस्पताल सरहको 'मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र' निर्माणका लागि पहल भने थालेको छ । पोखराको सिर्जनाचोकस्थित जिल्ला समन्वय समितिको जग्गामा केन्द्र निर्माण गर्ने गरी विभिन्न चरणमा छलफल भइरहेको मन्त्री पाठकले जानकारी दिए ।

उक्त केन्द्र निर्माणका लागि गत वर्षदेखि नै स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्कीबीच छलफल हुँदै आएको छ । गत वर्ष संघीय स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेशका सचिव, महानिर्देशक र जिसस प्रमुखलगायतको बैठकले निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरे पनि त्यसले अहिलेसम्म सार्थकता पाउन सकेको छैन ।

सरकारले प्रस्तावित संरचनालाई अस्पतालका रूपमा मात्र नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ । हाल अन्य अस्पतालबाट फाट्टफुट्ट उपचार र परामर्श सेवा प्रदान गरिए पनि प्रदेशमा मानसिक रोगसम्बन्धी छुट्टै विशिष्टीकृत संरचना निर्माण हुन नसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया