एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी, ३०१ पदका लागि मनोनयन चल्दै

voiceofgandaki

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै नेताले आज आ–आफ्नो उम्मेदवारी दर्ता गराए ।

काठमाडौंको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा केन्द्रीय निर्वाचन आयोगको कार्यालय स्थापना गरिएको छ । सोही कार्यालयमा पुगेर दुवैले समर्थकसहित मनोनयन दर्ता गरेका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले दिउँसो करिब ३ बजे उम्मेदवारी दिए । अध्यक्ष ओलीले भने अपराह्न ३ बजेर ३० मिनेटमा मनोनयन दर्ता गराए ।

महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । अहिले अध्यक्षबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि पनि उम्मेदवारी दिने क्रम जारी छ । निर्वाचन आयोगले मनोनयनको समय ३ बजेर ३० मिनेटसम्म तोकेको थियो । तर उम्मेदवारको लाइन लामो भएकाले केही समय लम्बिने देखिएको छ ।

प्रतिक्रिया