पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीका उम्मेदवारहरूले निर्वाचन खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्न आनाकानी गरेको पाइएको छ । निर्वाचन आउन अब ५ दिन मात्र बाँकी रहँदा कास्कीका ४९ जना उम्मेदवारमध्ये ४२ जनाले मात्र आफ्नै नाममा छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् । खर्चको विवरण देखाउनका लागि ४५ जनाले सिफारिस लगे पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका कारण २ जना उम्मेदवारको बैंक खाता खुल्न सकेन ।
प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालका अनुसार सिफारिस लगेकामध्ये एक जना उम्मेदवारको नागरिकताको विवरण नमिलेकाले खाता खुलेको छैन । बाँकी ४ जना उम्मेदवारले भने आफूहरूले पार्टीकै खाताबाट कारोबार गर्ने जिकिर गर्दै निर्वाचन आयोगको निर्देशन अटेर गरेका छन् । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले छुट्टै बैंक खाता खोलेर सोहीमार्फत खर्च गर्नुपर्ने प्रावधान छ । तर, खाता नखोल्ने उम्मेदवारमाथि के कस्तो कारबाही गर्ने भन्नेबारे निर्वाचन आयोगले स्पष्ट कार्यविधि र निर्णय टुंगो लगाउन बाँकी रहेको अर्यालले जानकारी दिए ।
यसैबीच प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकी प्रदेशको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन् । प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन सम्पन्न गराउन प्रदेशभर १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ जना स्वयंसेवक परिचालन गरिएको छ ।
कास्की जिल्लामा मात्रै ३ लाख ८ हजार ५७२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । कास्कीमा ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४४ पुरुष र ५ महिला छन् । जिल्लाभर १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलसमेत तय गरेको छ । क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका–१५ को वडा कार्यालयमा, क्षेत्र नम्बर २ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय (पोखरा) मा र क्षेत्र नम्बर ३ को मतगणना पोखरा सभागृहमा हुने गरी व्यवस्थापन मिलाइएको छ ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको बताइन् । कास्कीका मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कास्कीबाट ८ जनालाई नियन्त्रणमा लिइएको छ, जसमध्ये ३ जनाविरुद्ध मुद्दा चलाइएको छ भने ५ जनामाथि अनुसन्धान भइरहेको छ । मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ बनाइएको छ ।
निर्वाचन आचारसंहिता पालना गराउन पनि कडाइ गरिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले बताए । कास्कीमा लिखित उजुरी नपरे पनि मौखिक सूचनाका आधारमा ठूला झण्डा हटाउने, भोजभतेर रोक्ने र २५ जनाभन्दा बढीको जुलुसलाई नियन्त्रण गर्ने काम भएको छ । सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने र आचारसंहिता विपरीतका सामग्री राख्नेलाई ‘इन्फर्मेसन इन्टिग्रिटी युनिट’ मार्फत निगरानी गरी हटाउन लगाइएको अधिकारीहरूले जानकारी दिएका छन् ।