काठमाडौँ– नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका हुन्।
एमालेले आफ्नो नेतृत्वमा सरकार बनेपछि पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयन गर्ने गरी ‘तत्काल गर्नुपर्ने ११ काम’ अघि सारेको छ। जसमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्याउने उल्लेख छ। घोषणापत्रमा विकासका लागि ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ समेटिएका छन्।
युवालाई १० जिबी डाटा र डलर कार्ड
एमालेले १८ देखि २८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यस्तै, युवा तथा उद्यमीलाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सूचना प्रविधि र अनलाइन सेवासम्बन्धी तालिम सहज बनाउँदै १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको योजना छ।
ऋण मिनाहा र निब्र्याजी ऋण
घोषणापत्रमा राज्यद्वारा गरिब पहिचान भएका परिवारले बैंक तथा वित्तीय संस्थाबाट २०८२ भदौसम्म लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने उल्लेख छ।
यस्तै, प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निब्र्याजी (ब्याज नलाग्ने) ऋण उपलब्ध गराउने एमालेले जनाएको छ। वैदेशिक रोजगारमा रहेका श्रमिकले औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाएमा बैंक खातामा ५ हजार रुपैयाँ थप गरिदिने कार्यक्रम पनि ल्याइएको छ।
स्वास्थ्य र शिक्षामा सहुलियत
एमालेले स्वास्थ्य स्वयंसेविकालाई २० हजार रुपैयाँ भत्ता र सामाजिक सुरक्षा उपलब्ध गराउने, २० हजार रुपैयाँ सुत्केरी भत्ता दिने र ५ लाख रुपैयाँसम्मको निःशुल्क जीवन बिमा गर्ने बाचा गरेको छ।
सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड तथा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।
५ वर्षमा अर्थतन्त्र १०० खर्बको
एमालेको घोषणापत्रमा ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब (१० ट्रिलियन) र १० वर्षमा २०० खर्ब रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ। ७ देखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आम्दानी ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्याउने दाबी गरिएको छ।
यस्तै, उच्च आर्थिक वृद्धिबाट वार्षिक ४ लाख र सूचना प्रविधि क्षेत्रसहितका लक्षित कार्यक्रमबाट १ लाख गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने एमालेको प्रतिबद्धता छ।
दुई वर्षभित्र सबै घरमा खानेपानी पुर्याउने, सबै सडकलाई कम्तीमा दुई लेनको बनाउने, ५ वर्षभित्र थप ३ लाख हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने र पर्यटन आगमन दोब्बर बनाउने योजना पनि घोषणापत्रमा समेटिएको छ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, सचिव छविलाल विश्वकर्मा लगायतका नेता सहभागी थिए।
७ फाल्गुण २०८२, बिहिबार १०:१८ मा प्रकाशित