पोखरा । कागजमा हेर्ने हो भने नेपालका हरेक पञ्चवर्षीय वा आवधिक योजनाहरू गजबका देखिन्छन् । भिजन, मिसन र रणनीतिमा समानता र सामाजिक न्यायका चिल्ला शब्दहरू अटाएकै हुन्छन् । तर, जब ती योजनाहरू गाउँ–सहरमा पुग्छन्, नतिजा किन अपेक्षित आउँदैन ? किन विकासका नाममा कतै भिडभाड त कतै मरुभूमिजस्तो अवस्था सिर्जना हुन्छ ? शनिबार पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहतको समाज विज्ञान केन्द्रले गरेको ‘कचहरी’ मा त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक डा. कृष्णप्रसाद पौड्यालले यसको चुरो कुरो कोट्याए, ‘हामीले के गर्ने त भन्यौं, तर ‘कहाँ’ गर्ने भन्ने भेउ नै पाएनौं ।’ उनले क्षेत्रगत (स्थानिक) सोच र नेपालका विकास योजनामा यसको बिम्ब विषयमा अवधारण पत्र प्रस्तुत गरेका थिए ।
नेपालको विकास निर्माण र योजना तर्जुमा प्रक्रियामा ‘स्थानिक चिन्तन’ (स्पेसियल थिंकिङ) को अभाव रहेको डा. पौड्यालको निष्कर्ष थियो । उनले कचहरीमा उपस्थित प्रबुद्ध वर्गलाई झकझकाउँदै भने, ‘स्थानिक चिन्तन भनेको केवल नक्सा हेर्नु होइन, यो त स्थान, दूरी, दिशा, आकार र ढाँचाजस्ता अवधारणाहरू प्रयोग गरेर मानसिक चित्रण गर्ने क्षमता हो ।’ उनले विकासलाई ‘ककककसाइन्स अफ ह्वेयर’ अर्थात् ‘कहाँ’ भन्ने विज्ञानसँग जोड्दै स्थानको अर्थ नबुझी गरिने योजना सधैं अधुरो हुने जिकिर गरे । आर्थिक भूगोलका तीन आयाम– घनत्व, दूरी र विभाजनलाई बुझ्न नसक्दा सहरमा अवसर थुप्रिने तर गाउँ रित्तिने क्रम चलेको उनको तर्क थियो । ‘भाषणमा समानता भनेर हुँदैन, कुन ठाउँमा कति असमानता छ भनेर नक्सा र तथ्यांकमा नहेरेसम्म विकासको प्रतिफल तल्लो तहमा पुग्दैन,’ पौड्यालले भने ।
डा. पौड्यालको यो ‘स्थानिक चिन्तन’ को बहसमा कचहरीमा सहभागी अन्य वक्ताहरूले आ–आफ्नै अनुभव र भोगाइ मिसाए । बहसमा सहभागी हुँदै पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र उपप्राध्यापक मुकुन्द लम्सालले क्षेत्रगत विकास भनेको भूगोल मात्र नभई सामाजिक विषयवस्तु पनि भएको भन्दै उपलब्ध स्रोतको सही पहिचानमा जोड दिए । उता प्राडा कृष्ण केसीले विषयलाई अझ प्रष्ट पार्दै अर्थशास्त्रमा जसरी पैसा प्रधान हुन्छ, भूगोलमा त्यसैगरी ‘क्षेत्र’ प्रधान हुने बताए । उनले २०२८ सालको रिजनल प्लानिङले सन्तुलित विकासको सपना देखे पनि अहिले त्यो हराएको भन्दै रित्तो गाउँमा जबर्जस्ती विकास थुपार्नुभन्दा मानिसका आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिए ।
योजना र व्यवहारबिचको खाडलका विषयमा डा. लोकरञ्जन पराजुलीको गुनासो थियो । उनले कागजमा जतिसुकै राम्रो देखिए पनि व्यवहारमा उतार्न नसक्नु नै हाम्रो विडम्बना भएको बताए । अर्थशास्त्र र विकासको साइनो केलाउँदै उपप्राध्यापक पूर्णबहादुर खाणले अर्थशास्त्रको सीमान्तिकृत सिद्धान्तलाई उद्धृत गरे । ‘जहाँ असमानताको खाडल गहिरो छ, राज्यले त्यहीँ लगानी गर्दा पो प्रतिफल आउँछ,’ उनले भने, ‘तर यहाँ त जनसंख्या र भूगोललाई सँगै राखेर हेरिएकै छैन ।’
विकासको मोडलबारे गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले एउटा रमाइलो तर तितो यथार्थ सुनाए । ‘हाम्रो विकास कस्तो भयो भने, जहाँ गाडीको भिडभाड छ त्यहाँ सडक विस्तार हुँदैन, तर जहाँ बस्ती नै छैन त्यहाँ फराकिलो बाटो पुगेको छ,’ तिवारीले भने, ‘कहाँ कस्तो विकास चाहिएको हो भन्ने हेक्का नै भएन ।’ राजनीतिकर्मी शारदाप्रसाद सुवेदीले पनि यो भनाइमा सहमति जनाउँदै विकास सहर केन्द्रित भएको र विदेशीको पैसा ल्याउँदा उनीहरूकै सर्त र प्रोजेक्ट मान्नुपर्ने बाध्यताले सन्तुलन बिग्रेको बताए ।
स्थानीय सरकार चलाएका जनप्रतिनिधिहरूको अनुभव भने अझ पेचिलो थियो । पोखरा महानगर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महानगर बनाउने नाममा ग्रामीण भेगलाई गाभ्दा सन्तुलन बिग्रेको गुनासो गरे । उनले रैथाने बस्तीभन्दा बसाइँ सरेर आएका नयाँ बस्तीमा काम गर्न बरु सहज भएको अनुभव सुनाए । निवर्तमान वडाध्यक्ष शंकर बास्तोलाले पनि पोखरा महानगरको सीमांकन गर्दा भूगोलको ख्यालै नगरिएको भन्दै राजनीतिक नेतृत्वले विज्ञको सल्लाह नलिँदा समस्या आएको बताए ।
डा. रामजी पोखरेलले ‘बटम अप एप्रोच’ को वकालत गरे । कुन ठाउँमा कुन मोडल ठीक हुन्छ भन्ने ठम्याउनु नै क्षेत्रगत विकास भएको उनको भनाइ थियो । तर, स्ट्रगल रानाले भने भूगोललाई भन्दा मान्छेलाई केन्द्रमा राखेर विकास गर्नुपर्ने तर्क अघि सारे । इन्जिनियर कौशलचन्द्र जिसीले विकासका लागि व्यवस्थित सोचकै अभाव देखे भने समाजशास्त्री भीम न्यौपानेले बदलिँदो परिस्थितिमा विकासको परिभाषा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए ।
कचहरीका परिकल्पनाकार एवं लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीले समसामयिक विषयमा मन्थन गर्ने थलोका रुपमा कचहरी स्थापित भएको बताए । कचहरीमा गोमा क्षत्री, राधाकृष्ण लामिछाने, प्राडा ज्ञानबहादुर कार्की र पत्रकार ओम हमाल लगायतले पनि आ–आफ्ना धारणा राख्दै स्थानिक चिन्तनको बहसमा साथ दिएका थिए ।
लेकसिटी कलेजको यो नियमित ‘कचहरी’ शृंखलाको एउटा रोचक पक्ष भनेको यसको अध्यक्षता गर्ने विधि हो । कार्यक्रममा जो सबैभन्दा पहिले आइपुग्छन्, उनैलाई सभाध्यक्ष बनाउने परम्परा अनुसार शनिबारको कार्यक्रमको अध्यक्षता राजबहादुर रोकायाले गरेका थिए । बिएसडब्लु चौथो वर्षकी विद्यार्थी सम्झना भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रम दुई घन्टाको निर्धारित समयभित्रै सकिएको थियो ।