गण्डकी प्रदेश सरकारको निर्देशन : स्थानीय तहले तत्काल संगठन संरचना र कर्मचारीको सिटरोल दर्ता गर्नुपर्ने

voiceofgandaki

पोखरा ।


गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका सबै ८५ वटै स्थानीय तहलाई तत्काल संगठन संरचना र कर्मचारीहरूको वैयक्तिक विवरण (सिटरोल) दर्ता गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा) ले बुधबार (मंसिर १९ गते) दुई छुट्टाछुट्टै सूचना जारी गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको अभिलेख व्यवस्थापन र संगठन संरचना दर्ताका लागि ताकेता गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (निजामती) र गण्डकी प्रदेश सरकारबीच प्रदेश तथा स्थानीय सरकारी सेवाको कर्मचारी सूचना प्रणालीमा पहुँच हस्तान्तरण गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै प्रदेशले यो प्रक्रिया अगाडि बढाएको हो ।

संगठन तथा पद दर्ता अनिवार्य
प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८० को नियम ९ बमोजिम स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएबमोजिमको पद, समूह वा उपसमूह र तह खुल्ने गरी पद दर्ताका लागि विवरण पठाउन निर्देशन दिएको छ । पद दर्ता नहुँदा कर्मचारी सूचना प्रणाली (PIS Portal) सुचारु गर्न समस्या हुने भएकाले देहायका कागजातहरू सहित प्रदेश किताबखानामा सम्पर्क गर्न भनिएको छ:

  • नियमावलीको अनुसूची–४ बमोजिमको कार्यालय तथा पद दर्ता फाराम (३ प्रति) ।

  • नियमावलीको अनुसूची–५ बमोजिम तयार गरी स्वीकृत गरिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि ।

  • सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत सम्बन्धी कार्यपालिकाको निर्णयको प्रमाणित प्रतिलिपि ।

  • स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी तेरिजको अनुसूची (१/१ प्रति) ।

  • सङ्गठन तथा पद दर्ता गर्न प्रदेश किताबखानालाई अनुरोध गरिएको पत्र ।

कर्मचारीको सिटरोल दर्ता सम्बन्धी व्यवस्था
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १८ (२) बमोजिम कर्मचारीको व्यक्तिगत विवरण राख्नका लागि सिटरोल फाराम भर्नुपर्ने भएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आफ्ना कर्मचारीहरूको विवरण संकलन गरी एकमुष्ट रूपमा प्रदेश किताबखानामा बुझाउनुपर्नेछ ।

सिटरोल दर्ताका लागि आवश्यक कागजातहरू:

  • स्थानीय सेवा नियमावली, २०८० को अनुसूची–९ बमोजिमको सिटरोल फाराम (प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरेको ४ प्रति) ।

  • सम्बन्धित कार्यालयबाट सिटरोल दर्ता गरिदिन अनुरोध गरेको पत्र ।

  • सेवा प्रवेश गर्नुपूर्वको उमेर खुल्ने शैक्षिक योग्यता र राष्ट्रिय परिचयपत्र/नागरिकताको प्रमाणित प्रतिलिपि ।

  • प्रदेश लोक सेवा आयोगको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि ।

  • स्थायी नियुक्ति हुँदा पेस गरेको निरोगिता र शपथ ग्रहणको प्रमाणित प्रतिलिपि ।

  • स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि ।

  • कार्यालयमा सुरुमा हाजिर भएको जानकारी पत्र ।

  • यदि यसअघि संघीय निजामती, अन्य प्रदेश वा स्थानीय सेवामा स्थायी काम गरेको भए सोको विवरण र नियुक्ति/हाजिरी पत्र ।

  • तालिमको प्रमाणपत्र (अनिवार्य छैन) ।

फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू:
मुख्यमन्त्री कार्यालयले सिटरोल फाराम भर्दा त्रुटि नहोस् भनेर विशेष नमुना निर्देशिका समेत जारी गरेको छ । जसअनुसार:

  • फोटो: हालसालै खिचेको दुवै कान देखिने पासपोर्ट साइजको फोटो टाँसेर कार्यालय प्रमुखबाट प्रमाणित गराउनुपर्ने ।

  • हस्ताक्षर: सिटरोल फारामको प्रत्येक पेज (फोटोसमेत) र अन्य कागजातहरूमा अनिवार्य रूपमा कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) ले प्रमाणित गरी सही छाप लगाउनुपर्ने ।

  • खाली छाड्नुपर्ने ठाउँ: "किताबखानाले प्रमाणित गर्ने" भनी तोकिएको पाना वा कोठामा कार्यालयले कुनै पनि छाप वा हस्ताक्षर गर्न नहुने ।

  • सेवा विवरण: सुरु नियुक्तिदेखि हालसम्म सरुवा भएका कार्यालयहरूको विवरण स्पष्ट भर्नुपर्ने ।

नियुक्ति पश्चात् अन्य कार्यालयमा सरुवा भएको भए सरुवा पत्र र हाजिर भएको पत्र समेत संलग्न गर्नुपर्नेछ । प्रदेश सरकारले स्थानीय तहको प्रशासनिक अभिलेखलाई व्यवस्थित गर्न र प्रविधिमैत्री बनाउन यो कदम चालेको जनाएको छ ।

प्रतिक्रिया