पोखरा । सशस्त्र प्रहरी बल नेपालले करीव २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक संजालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्विर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १ सय ६६ जना कर्मचारीहरुलाई विभागिय कारवाही गरेको छ ।
उनीहरुले व्यक्तिगत प्रोफाईल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्विर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक संजालमा अपलोड गरेका थिए ।
कारवाही परेकाहरुमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, बरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् । उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराईएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरुमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत कारवाही गर्दै आएको छ । संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको छ ।
यसैगरी ४ जना कर्मचारी कारवाही प्रकृयामा रहेका छन् । प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै कारवाही गर्न भनिएकाहरुमा सशस्त्र प्रहरी सहायक हवल्दार १ जना र जवान ३ जना रहेको सशस्त्र सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।