मेयर आचार्य भन्छन् : पोखरा महानगर भवनमा आगजनीमा, राजनीतिक कार्यकर्ता र व्यवसायी नै संलग्न

voiceofgandaki

पोखरा— पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको मुख्य प्रशासकीय भवन जलाउने घटनामा जेन जी पुस्ताभन्दा फरक समूह संलग्न रहेको दाबी गरेका छन्। उनका अनुसार विभिन्न राजनीतिक दलका कार्यकर्ता, केही व्यवसायी र आफूलाई समाजसेवी भन्ने व्यक्तिहरू नै आगजनीमा सक्रिय थिए।

बुधबार जलेको महानगर भवनको अवलोकन गर्दै आचार्यले भने, “सिसिटिभी फुटेज र तस्वीरले देखाउँछ— यो जेन पुस्ताको आन्दोलन होइन, राजनीतिक कार्यकर्ता र व्यवसायीहरूको समूहको आतंक हो।”

नक्सादेखि गाडीसमेत खरानी

आचार्यका अनुसार महानगरपालिकामा संचित एक लाखभन्दा बढी नक्सा पूर्ण रूपमा नष्ट भएका छन्। सहकारी शाखाबाट सुरु भएको आगो लेखा शाखा हुँदै सम्पूर्ण कक्षमा फैलिएको थियो। यसक्रममा महत्वपूर्ण कागजातहरूसहित तीन दर्जन मोटरसाइकल र करिब एक दर्जन गाडी ध्वस्त भएका छन्।

२६ वडा पूर्ण रूपमा प्रभावित

आगोले महानगरका २६ वडामा ठुलो क्षति पु¥याएको छ। बाँकी वडाबाट भने सेवा सञ्चालन सुरु गरिएको आचार्यले जानकारी दिए। नयाँ दमकल र नगर प्रहरी भवनसहित विभिन्न अस्थायी कार्यालयमार्फत निरन्तर सेवा दिने तयारी भएको उनले बताए।

मेयरको घरमै लुटपाट

आन्दोलनकारीहरूले मेयर आचार्यको निजी निवासमा समेत आक्रमण गरेर घरका सामान सडकमा ल्याई तोडफोड र आगजनी गरेको तथ्य बाहिर आएको छ।

कसरी सुरु भयो आगजनी?

भदौ २४ गते बिहान जेन जी पुस्ताले पोखरा सभागृह अगाडि शान्तिपूर्ण धर्ना दिएका थिए। तर दिउँसो चिप्लेढुंगाबाट आएको अर्को समूहले एकाएक महानगर भवनमा ढुंगा प्रहार गर्न थालेपछि स्थिति बिग्रियो। त्यही तनावकै बीचमा आगजनी सुरु भई फैलँदै गयो।

नयाँ कार्यालय व्यवस्थापन

  • शान्तिवनस्थित नयाँ दमकल भवन: प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतका कक्ष, लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकल सेवा।

  • पोखरा सभागृह: प्रशासन महाशाखा, भण्डार, तथ्यांक, विपद व्यवस्थापन, उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरी।

  • व्यवसाय प्रवद्र्धन केन्द्र: राजस्व र शहरी विकास महाशाखा।

  • शिक्षा महाशाखा: आर्थिक प्रशासन र कोष प्रशासन शाखा।

  • सामाजिक विकास स्वास्थ्य महाशाखा: सिर्जना चोकस्थित कार्यालय, साथै साविक लेखनाथ नगर भवन।

  • पूर्वाधार विकास महाशाखा: योजना, आलेप, भूमी प्रशासन, खरिद।

  • आर्थिक विकास महाशाखा: सहकारी, श्रम तथा रोजगारी, सामी र व्यवसाय प्रवद्र्धन केन्द्र।

आचार्यले सेवामा क्रमशः लय फर्काइने प्रतिबद्धता जनाउँदै, “आतंक र लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ,” भन्ने माग राखे।

प्रतिक्रिया