कीर्तिपुर रंगशालामा ६ वटै फ्लडलाइट टावर जडान, एनपीएलअघि काम सक्ने लक्ष्य

voiceofgandaki

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका सबै ६ वटा फ्लडलाइट टावर ठड्याइएको छ।

निर्माण व्यवसायीले आइतबार एकै दिनमा दुईवटा पोल जडान गरेपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको हो। रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला, ३०-३० टनका ६ वटा हाइमास्ट लाइट जडान गरिनेछ।

आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार, पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ। पोल ठड्याइसकिएकाले अब बाँकी दुईवटामा लाइट राख्ने काम सुरु गरिनेछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गत असोज २३ गते निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका थिए। सो क्रममा दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअगावै प्यारापेट र फ्लडलाइट जडानको काम सक्ने प्रतिबद्धता जनाएका थिए। प्यारापेटको निर्माण व्यवसायीले भने काम सम्पन्न गरिसकेको छ। एनपीएल आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ।

सरकारले कीर्तिपुर रंगशालाको गुरुयोजना स्वीकृत गर्दै यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माण सुरु गर्ने निर्णय गरिसकेको छ।

मन्त्रिपरिषद्को गत असोज ३० गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको थियो। गुरुयोजनाअनुसार रंगशाला निर्माणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय पनि बैठकले गरेको थियो।

प्रतिक्रिया