पोखरा ।
दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल उपविजेता बनेको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा पहिलो पटक भएको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको हो ।
आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा भारतले नेपाललाई ७ विकेटले पराजित गरेको हो । टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको भारतले खेलभर दबाबमा राख्यो। नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११४ रन मात्रै जोड्न सक्यो । लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेटको क्षतिमा १ सय १७ रन जोड्दै उपाधि आफ्नो नाममा लेखायो । नेपालतर्फ प्रारम्भिक विकेट छिट्टै गुमाउँदा खेल ढल्कियो । कप्तान विनिता पुन ४ रनमै रनआउट हुँदै फर्किइन् भने मनकेसी चौधरी पनि ८ रनमै आउट भइन् । विमला राई २६ र सरिता घिमिरे ३३ ले साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे पनि ठूलो स्कोर बनाउन सकेनन् ।
भारतका करुणा कुमारी ४२ र सुरीन ४४ को उत्कृष्ट प्रदर्शनले टिमलाई सहज जित दिलायो । नेपालको सरिता घिमिरेले दुई रनआउटका रूपमा चम्किएकी थिइन् ।
नेपाली टिममा गीता पौडेल, विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका थिए । टिम प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षकमा नरेन्द्र निरौला र टिम म्यानेजर भगवती भट्टराई बराल थिए ।
प्रतियोगिता गत कार्तिक २७ गतेबाट सुरू भएको थियो । विश्वपकमा नेपालसहित ७ देशको सहभागिता रहेको थियो ।