नवलपुर। पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा दुई रात सवारी सञ्चालन बन्द हुने भएको छ । सडक कालोपत्र गर्ने कामका लागि मङ्सिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म राजमार्गमा गाडी चलाउन रोक लगाइएको हो ।
नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले नारायणी नदी पुलको गैँडाकोटतर्फको एप्रोच सडकमा कालोपत्र गर्न लागिएको जानकारी दिए । सडक बन्द गरेर काम गर्नुपर्ने भएकाले रातिको समय रोजिएको उनको भनाइ छ ।
रिजालले भने, 'निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो । उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।'
सडक बन्द हुने समयमा पूर्व र पश्चिमबाट आउने सवारीसाधनलाई रोक्ने स्थान तोकिएको छ । बुटवलबाट नवलपुर हुँदै पूर्व आउने बस, माइक्रो बस र साना सवारीसाधनलाई थुम्सीभन्दा पश्चिम रोकिने छ भने ट्रक, टिपर र लहरी जस्ता ठूला गाडी बेल्डिहाभन्दा पश्चिम रोकिनुपर्ने छ ।
त्यसैगरी, पूर्वबाट पश्चिम जाने गाडीलाई चितवनका विभिन्न स्थानमा रोक्ने व्यवस्था मिलाइएको छ । बस र साना सवारीलाई मुग्लिन–नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म तथा केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले बताए । ठूला मालवाहक गाडी भने जुगेडीदेखि दासढुंगा र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् ।
आयोजना प्रमुख रिजालले तोकिएको ठाउँमा गाडी रोकेर पालो पर्खन वा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन् । सडक विस्तारका क्रममा खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती खेपिरहेका छन् । पुलदेखि पश्चिम १७० मिटर सडक कालोपत्र भएपछि दाउन्नेसम्मको करिब ६० किलोमिटर सडक कालोपत्रे जोडिने बताइएको छ ।
५ मङ्सिर २०८२, बिहिबार ०६:४० मा प्रकाशित