सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले गर्‍यो निःशुल्क शिविर

voiceofgandaki

पोखरा ।


पोखरा-९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

हिमालयन आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अस्पतालका प्राविधिकसहितको टोलीले १९७ जनाको आँखा परीक्षण गरेको थियो ।

विद्यालयको समग्र अवस्थाको जानकारीसहित विद्यालयमा नेत्र सम्बन्धी क्षेत्रमा निःशुल्क सेवा प्रदान गर्ने हिमालयन आँखा परिवारलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा विद्यालयका निवर्तमान संयोजक तथा पोखरा-९ का जनप्रतिनिधि नन्दराम गिरिले पनि मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा समाज रूपान्तरणको पहिलो चरण नै शिक्षा भएको हुँदा सबैले शिक्षा गुणस्तरीय र बालमैत्री हुनुपर्नेमा जोड दिँदै स्वस्थ आँखा भएमा सिकाइ प्रभावकारी हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले विपन्न बस्तीका बालबालिकाहरूलाई निःशुल्क रूपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्त गरे । सोही क्रममा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूलाई आगामी दिनमा पर्ने आँखा सम्बन्धी समस्या पैदा भएको खण्डमा विद्यालयको सिफारिससहित अस्पतालमा आएमा मिल्नेसम्म छुटसहित सहूलियत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा भारतको राजधानी दिल्लीको एक विपन्न बस्तीबाट बर्सेनि डाक्टर, इन्जिनियरहरू दीक्षित हुने गरेको उदाहरण दिँदै ‘हिलोमा नै कमल फुल्दछ’ र यस्तै विपन्न र अव्यवस्थित बस्तीका बालबालिकाहरूलाई भविष्यमा राज्यको सक्षम र सबल नागरिक हुन प्रेरित गरे । साथै सामुदायिक विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षकको संख्या धेरै हुने गरेको अवस्थालाई चरितार्थ गर्दै सहारा विद्यालयका विद्यार्थीहरूको संख्या र शैक्षिक उपलब्धि देख्दा खुसी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विपन्न तथा अव्यवस्थित बस्तीका बालबालिकाहरूलाई स्वास्थ्य उपचार पहुँचयोग्य नभएको अवस्थामा हिमालयन आँखा अस्पतालले निःशुल्क रूपमा आँखा शिविर सञ्चालन गरी आवश्यक बालबालिकाहरूलाई निःशुल्क रूपमा चस्मा समेत प्रदान गरेकोमा खुसी व्यक्त गरे । सोही क्रममा डा. मनेन प्रसाद गोर्खालीलाई स्मरण गर्दै उनको समन्वयमा यो कार्यक्रम सञ्चालन गर्न पाउँदा हर्षित भएको बताउँदै उपस्थित सहयोगी दाताहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, शिविर सञ्चालन गर्ने प्राविधिक टिम, लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरे ।

विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, विद्यालयका सल्लाहकार एवम् समितिका पदाधिकारीहरू, सहारा क्लबका कार्यसमिति एवम् पूर्व पदाधिकारीहरू, छिमेकी टोल विकास संस्था तथा आमा समूहका पदाधिकारीहरूका साथसाथै अभिभावक, शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया