लागत बढ्यो, बजार अस्थिर : दुग्ध क्षेत्र जोगाउन दीर्घकालीन नीतिको खाँचो

voiceofgandaki

पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा पोखरामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरूले लागत वृद्धि, बजार अस्थिरता र नीतिगत अन्योलका कारण दुग्ध क्षेत्र संकटमा परेको बताएका छन्।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनको मुख्य आधार भए पनि पछिल्लो समय उद्योगी र किसान दुवै दबाबमा रहेको बताए। ‘किसानदेखि उद्योगसम्म सबै प्रभावित छन्। दीर्घकालीन नीति र त्यसको प्रभावकारी कार्यान्वयनविना यो क्षेत्र टिकाउन सकिँदैन,’ दाहालले भने।

एसोसिएसनका गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले प्रदेशमा दुग्ध क्षेत्रको सम्भावना भए पनि बाह्य बजारको प्रभाव परेको गुनासो गरे। आयातित दूध र प्रशोधित दुग्धजन्य पदार्थका कारण स्थानीय उद्योग प्रभावित भएको भन्दै उनले भने, ‘प्रदेशस्तरमै संरक्षणमुखी नीति आवश्यक छ। उद्योग र किसानबीचको सम्बन्ध पनि मजबुत बनाउनुपर्छ।’

पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय सरकार यस क्षेत्रको विकासप्रति संवेदनशील रहेको बताए। उनले उत्पादनको बजारीकरण र मूल्य स्थिरताका लागि महानगरले भूमिका खेल्ने प्रतिबद्धता जनाए। ‘महानगरले सहुलियत, प्रवर्द्धन र सहकार्यका माध्यमबाट सहयोग गर्न सक्छ,’ उनले भने।

भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीका वरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेले उत्पादन बढाउनु मात्र नभई गुणस्तर कायम गर्नु अहिलेको मुख्य चुनौती रहेको औंल्याए। उनले भने, ‘पशु स्वास्थ्य, रोग नियन्त्रण र वैज्ञानिक पशुपालनमा किसानलाई प्राविधिक ज्ञान आवश्यक छ।’

कार्यक्रमका सहजकर्ता एवं आर्थिक आवाजका सम्पादक सुरेन्द्र पौडेलले दुग्ध क्षेत्रका समस्या बहुआयामिक रहेको बताउँदै समाधानका लागि त्रिपक्षीय (सरकार, निजी क्षेत्र र किसान) समन्वय अपरिहार्य रहेको निष्कर्ष सुनाए। सहभागीहरूले नीतिगत सुधार र बजार सुनिश्चिततामा जोड दिएका थिए।

प्रतिक्रिया