Model
लमजुङ — लमजुङको दुराडाँडा स्थित सर्वोदय माध्यमिक विद्यालयको ७४औं वार्षिकोत्सव समारोह एवम् ५५औं अभिभावक दिवस २०८२ विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षता र सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवम् लोकसेवा आयोग बागमती प्रदेशका पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ, वरिष्ठ इन्जिनियर अर्जुनभक्त पौडेल, वरिष्ठ इन्जिनियर कृष्ण राना लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जग्गादाता, अक्षयकोषदाता, विभिन्न विद्यालयका प्रधानाध्यापक, चन्दादाता, जनप्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिए। वरिष्ठ लोक स्वर सम्राट गायक राजु परिवार र लोक गायिका लुमा केसीको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो।
विद्यालय व्यवस्थापन समिति सदस्य जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद कोइरालाले पानसमा बत्ती बालेर एवम् विष्णु भक्तको सालिकमा माल्यार्पण गरी गरेका थिए। शिक्षक पशुपति न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन २०८२ सँगै विद्यालयको भावी योजना प्रस्तुत गरे।
सो अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, जनचेतनामूलक अभिनय र लाखेनाच समेत प्रस्तुत गरेका थिए। विद्यालयको शैक्षिक उन्नयनमा योगदान पुर्याउने अक्षयकोषदाता सम्मान, वर्ष उत्कृष्ट शिक्षक तथा अभिभावक सम्मानका साथै पञ्चेबाजाको साथमा दोहोरी र आकर्षक नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
यसै कार्यक्रमको अवसरमा विद्यालयका उत्पादनहरूबाट कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि ट्र्याक सुट र टोपी हस्तान्तरण गरिएको थियो। उक्त समारोहमा विद्यालयको चौतर्फी विकासका विभिन्न शीर्षकका अक्षयकोषमा करिब १४ लाख रुपैयाँ जम्मा भएको थियो।
२६ कार्तिक २०८२, मङ्गलबार ०३:१७ मा प्रकाशित