फागुन २१ को निर्वाचनका लागि आयोगले कार्यतालिका स्वीकृत गर्दै तयारी थाल्यो
voiceofgandaki
२१ असोज २०८२, मङ्गलबार
काठमाडौं — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । सोमबार जारी गरिएको विज्ञप्तिमा आयोगले दल दर्तादेखि मतगणनासम्मका सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ ।
आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन समयबद्ध तयारी सुरु गरिएको छ । पहिलो-पास हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
फागुन ३ गतेदेखि १८ गतेसम्म उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् भने त्यसपछि निर्वाचन मौन अवधि सुरु हुनेछ ।
आयोगले तयारीका क्रममा मतदाता शिक्षा, सुरक्षा व्यवस्था, मतदाता नामावली अद्यावधिक, सामग्री व्यवस्थापन र कर्मचारी तालिमलगायतका पूर्वतयारीलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आयोगले कानुनी म्याद र प्रशासनिक आवश्यकता अनुसार सबै प्रक्रिया पारदर्शी ढंगले सम्पन्न गर्न आवश्यक समन्वय र तयारी तीव्र बनाएको छ।”
फागुन २१ गते हुने निर्वाचनका क्रममा आयोगले देशभरका सबै मतदानस्थलमा शान्तिपूर्ण वातावरणमा मतदान सुनिश्चित गर्ने तयारी गरिरहेको जनाएको छ ।