एकै दिन देशभरका १७ ठाउँमा आगलागी

voiceofgandaki

काठमाडौं  ।

देशभर चिसो बढेसँगै आगलागीका घटना ह्वात्तै बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एकै दिन देशभर १७ स्थानमा आगलागी भएको छ । गत मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्मको २४ घण्टामा यी घटना दर्ता भएका हुन् ।

आगलागीका कारण ८२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । तथ्यांक अनुसार सिरहामा तीन र भोजपुरमा दुईवटा आगलागीका घटना भए । यस्तै पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा आगलागी भएको छ ।

अधिकांश घटना मानवीय असावधानीका कारण भएको पाइएको छ । गाईगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा र ग्यास चुल्हो बालेर आगो ताप्दा आगलागी भएको देखिएको छ । त्यस्तै विद्युत् सर्ट हुँदा र विद्युतीय सवारी साधनमा अचानक आगो लाग्दा पनि क्षति भएको छ । सामान्य सावधानी अपनाउँदा पनि जनधनको क्षति रोक्न सकिने भए पनि चेतना अभावले घटना बढेको प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणमा यो अवधिमा कुल २० वटा विपद्का घटना दर्ता भए । जसमा १७ वटा आगलागी थिए भने बाँकी तीनवटा घटना फरक प्रकृतिका छन् । मुस्ताङमा लेक लागेको र महोत्तरीमा सर्पदंशको घटना भएको छ । यस्तै पर्सामा वन्यजन्तु आक्रमणको घटना पनि दर्ता भएको छ । पर्साको पर्सागढी नगरपालिका–३ झुलिटार बस्ने ५५ वर्षीया महिला घाँस काट्न जंगल गएको बेला बाघले आक्रमण गरी घाइते बनाएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया