पोखरा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका १ स्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई खुमा अर्याल फाउण्डेसनले दुई थान कम्प्युटर सेट प्रदान गरेको छ । विद्यालयको ५१ औँ वार्षिकोत्सव समारोहको अवसर पारेर फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मा सहितको टोलीले उक्त शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरे । विद्यार्थीलाई प्रविधिमैत्री शैक्षिक सिकाइमा जोड्न विद्यालयमा कम्प्युटरको अभाव रहेको र विद्यालय व्यवस्थापन समितिले माग गरेपछि फाउण्डेसनले यो सहयोग उपलब्ध गराएको शर्माले बताए । विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्दा विद्यार्थीको सिकाइ स्तरमा सुधार आउने विश्वास फाउण्डेसनले लिएको छ ।