राष्ट्रिय कोदो दिवसमा लाहाचोकमा रोपाइँ महोत्सव सम्पन्न

voiceofgandaki

पोखरा ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की र माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसको अवसरमा आज कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ।

जनगायक जीवन शर्माको विशेष प्रस्तुति, पञ्चेवाजा, स्थानीय भजन लगायतका कार्यक्रमसहित सम्पन्न महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए। सहभागी सबै समूहलाई आयोजकका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो।

कार्यक्रमको प्रवर्द्धकमा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, कृषि विकास निर्देशनालय, नेपाल टेलिकम, पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका रहेका थिए।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले बहुपोषणयुक्त कोदोको महत्त्वलाई बुझ्न नसक्दा यो हेला गरिएको अन्नजस्तो बनेको बताए। बहु परिकारसँगै घरेलु मदिरा आदि निर्माणका लागि कोदो उपयोगी हुने बताउँदै उनले यसबाट अधिकतम फाइदा लिन सकिने धारणा राखे।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरीले खाद्यान्नमा आत्मनिर्भर बन्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कोदोको महत्त्वलाई बुझ्न नसक्दा पनि यसतर्फको आकर्षण बढ्न नसकेको बताए।

नेपाल उद्योग तथा व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले महोत्सवमार्फत कोदो खेतीको प्रवर्द्धन गर्न खोजिएको बताए। औषधिजन्य गुण भएको कोदो खेतीको विस्तार गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउनु जरुरी भएको उनको भनाइ छ।

माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले स्थानीय उत्पादनमा जोड दिन सके त्यसले खाद्यान्नमा आत्मनिर्भर बनाउने धारणा राखिन्।

नेपाल उद्योग तथा व्यवसायी संघ कास्कीका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षता र सचिव धर्ममान सिंह भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीयवासीको राम्रो उपस्थिति थियो।

प्रतिक्रिया