कांग्रेसको निर्णय : समानुपातिक सांसद दोहोरिन नपाउने, आरजु र मञ्जुले प्रत्यक्ष लड्नुपर्ने

voiceofgandaki

काठमाडौँ ।  नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका नेताहरूलाई आगामी निर्वाचनमा सोही प्रणालीमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई पुनः समानुपातिकमै सिफारिस नगर्न पार्टीले मातहतका समितिलाई परिपत्र गरेको हो ।

पार्टी विधानको धारा ३३ (२) मा रहेको ‘दोहोर्‍याएर समानुपातिक सांसद हुन नपाउने’ व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । उनले उम्मेदवार छनोटमा द्विविधा नहोस भनेर मंसिर १५ गते नै परिपत्र गरिसकिएको बताए । यद्यपि, समानुपातिकमा अवसर नपाउने नेताहरूले प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) भने उम्मेदवारी दिन पाउनेछन् ।

को–को पर्दैछन् प्रभावमा ?

यो निर्णयसँगै पार्टीका शीर्ष नेताहरू र उनीहरूका परिवारका सदस्यहरू प्रत्यक्षतर्फ चुनाव लड्नुपर्ने बाध्यता सिर्जना भएको छ । सहमहामन्त्री जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, पूर्वउपसभापति विमलेन्द्र निधिसहित सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जु खाणले अब समानुपातिकको टिकट पाउने छैनन् ।

आरजु २०६४ र २०७० मा पनि समानुपातिक सांसद थिइन् । यस्तै, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, प्रतिमा गौतम, मैना कार्की, नागिना यादव, चन्दा चौधरी, संगीता मण्डल, निनुकुमारी कर्ण र रूपा विकलगायतका निवर्तमान सांसदहरूले पनि अब प्रत्यक्षतर्फकै तयारी गर्नुपर्नेछ ।

सिफारिसको कार्यतालिका

कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । परिपत्रअनुसार मंसिर २३ गतेभित्र निर्वाचन क्षेत्रबाट, २५ गतेभित्र जिल्लाबाट र २७ गतेभित्र प्रदेशबाट उम्मेदवारको नाम केन्द्रमा पठाउन भनिएको छ ।

समानुपातिकतर्फका उम्मेदवारको सूची पुस १८ र १९ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ भने प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । ‘मनोनयनको मुखमा हतार नहोस भनेर यसपटक चाँडै नाम मागिएको हो,’ मुख्य सचिव पौडेलले भने ।

महामन्त्री थापाको असन्तुष्टि

फागुन २१ गते हुने १५औं महाधिवेशनअघि नै टिकट वितरण गर्ने विषयमा पार्टीभित्र विवाद देखिएको छ । महामन्त्री गगन थापाले महाधिवेशनपछिको नयाँ नेतृत्वले टिकट वितरण गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर, संस्थापन पक्षले भने निर्वाचन आयोगको कार्यतालिकालाई देखाउँदै प्रक्रिया अघि बढाएको छ ।

यसैगरी, प्रदेशसभाको समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरूले बन्दसूचीबाट नाम नहटाएसम्म प्रतिनिधिसभामा उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । कांग्रेसले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गर्न जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया