पोखरा– भारतको बिहार क्षेत्रका वरिष्ठ पर्यटन व्यवसायी र ‘ट्राभल इन्फ्लुएन्सर’ को टोलीसँग पोखराका पर्यटन सरोकारवालाले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनबारे छलफल गरेका छन्। मुस्ताङको भ्रमण सकेर पोखरा फर्किएको भारतीय टोलीसँग सोमबार पोखरा पर्यटन परिषद् र पर्यटन सम्बद्ध संघसंस्थाले अन्तर्क्रिया गरेका हुन्।
छलफलमा टुरिजम एसोसिएसन अफ बिहारका ‘प्रेसिडेन्ट’ सोनु कुमार सिंहले भारतको पटना र बिहारबाट पोखरासम्म सिधा यातायातको पहुँच विस्तार गर्न सके पर्यटक आगमन ह्वात्तै बढ्ने बताए। ‘बिहारमा ठूलो जनसंख्या छ, यहाँका सुन्दर गन्तव्यमा उनीहरूलाई आकर्षित गर्न सके पोखराले ठूलो लाभ लिनेछ,’ सिंहले भने, ‘यसका लागि हामी सहकार्य गर्न तयार छौँ।’
कार्यक्रममा भारतीय टोलीका सदस्य एवं ‘अनडिस्कभर्ड भेन्चर्स प्रालि’ का डाइरेक्टर आशिष कौशिक, को–फाउन्डर अविनाश कौशिक र फोटोग्राफर सुनिल शर्मा लगायतको सहभागिता थियो। ट्राभल इन्फ्लुएन्सर अभिषेक कौशिकले मुस्ताङको मार्फा लगायतका स्थान उत्कृष्ट गन्तव्य रहेको भन्दै आफूहरूले ‘भिजुअल’ माध्यमबाट प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाए।
सिधै हिमाल उक्लँदा जोखिम
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बिहारको गर्मी ठाउँबाट हतार गरेर सिधै हिमालपारिको जिल्ला मुस्ताङ पुग्दा पर्यटकको स्वास्थ्यमा जोखिम हुने भन्दै सचेत गराए। ‘विहारबाट आएर सिधै उच्च हिमाली भेगमा जाँदा ‘हाइ अल्टिच्युड’ को समस्या हुन सक्छ,’ अध्यक्ष पहारीले भने, ‘पोखरामा आएर केही दिन आराम गर्दै, यहाँका गन्तव्य घुमेर मात्र माथिल्लो क्षेत्रमा जानु स्वास्थ्यका हिसाबले राम्रो हुन्छ।’
साथै, अध्यक्ष पहारीले केही भारतीय सवारीसाधनले कानुनले दिएको सुविधा विपरीत नेपालमा आएर व्यवसायिक रूपमा यात्रु ओसार्ने गरेको भन्दै त्यस्ता गतिविधि नियन्त्रण हुनुपर्नेमा ध्यानाकर्षण गराए।
प्रवर्द्धनमा सहकार्य
कार्यक्रममा भारतीय टोलीले मुस्ताङ यात्राका क्रममा तयार पारेको भिडियो र पोखरा भ्रमण वर्ष २०२५ ले तयार पारेको गण्डकी प्रदेशको पर्यटकीय गन्तव्य समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो।
परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई र सोम थापाले गण्डकी प्रदेश भारतीय पर्यटकको प्रमुख रोजाइमा रहेको भन्दै ‘ट्राभल इन्फ्लुएन्सर’ ले प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
छलफलमा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, परिषद्का पूर्वअध्यक्षहरू टीकाराम सापकोटा, चिरञ्जीवी पोखरेल, गोपीबहादुर भट्टराई लगायतले भारतीय पर्यटकको बसाइ लम्ब्याउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।
२८ माघ २०८२, मङ्गलबार ०६:४८ मा प्रकाशित