कांग्रेस सभापतिमा चन्द्र भण्डारीको दाबी, देउवाको उत्तराधिकारी बन्न दर्जन नेताको दौडधूप

voiceofgandaki

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४औं महाधिवेशनमा उपसभापतिको प्रत्यासी बनेका भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो आकांक्षा सार्वजनिक गरेका हुन् ।

‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यसरी नै अघि बढ्न तयार छु,’ भण्डारीले लेखेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नुपर्छ ।’

महाधिवेशन कि निर्वाचन ? अन्योल कायमै

कांग्रेस केन्द्रीय समितिले पुस २६ गतेदेखि काठमाडौँमा १५औं महाधिवेशन गर्ने निर्णय गरे पनि समयको चापका कारण नेताहरू नै सशंकित छन् । फागुन २१ गतेका लागि तय भएको आम निर्वाचन र महाधिवेशनको तयारी (क्रियाशील सदस्यतादेखि तल्ला तहको अधिवेशन) एकैसाथ गर्नुपर्ने चुनौती कांग्रेससामु छ । तथापि, नेताहरूले नेतृत्व हत्याउन आन्तरिक दौडधूप तीव्र पारेका छन् ।

देउवाको उत्तराधिकारी बन्ने होड

विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा अब सभापतिको उम्मेदवार बन्न पाउने छैनन् । गत भदौ २३ र २४ को राजनीतिक घटनाक्रमपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् । सक्रिय राजनीतिको उत्तरार्धमा रहेका देउवाको विश्वास जितेर नेतृत्वमा पुग्न संस्थापन पक्षमै आधा दर्जन नेता आकांक्षी देखिएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफूलाई देउवाको स्वाभाविक उत्तराधिकारी ठान्छन् । यस्तै, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि देउवाको समर्थन पाउने आसमा छन् । १४औं महाधिवेशनमा देउवालाई सघाएका निधि र सिंह यसपटक गुन तिर्नुपर्ने पक्षमा छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि देउवाको सहयोगको अपेक्षामा छन् । १३औं र १४औं महाधिवेशनमा देउवालाई सघाएको भन्दै सिटौलाले दाबी पेस गरेका छन् । यस्तै, पूर्वमहामन्त्री शशांक कोइराला पनि देउवाको साथ पाए सभापति लड्ने मुडमा छन् ।

कोइराला र थापाबीच द्वन्द्व

संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिद्वन्द्वी बनेका डा. शेखर कोइरालाले तयारी तीव्र पारेका छन् । यद्यपि, सोही समूहका महामन्त्री गगन थापाले पनि सभापतिमा दाबी गर्ने संकेत गरेका छन् ।

संसदीय दलको निर्वाचनमा थापालाई सघाउने र महाधिवेशनमा कोइरालालाई सभापति मान्ने समझदारी भएको कोइराला पक्षको दाबी छ । तर, बदलिएको राजनीतिक परिस्थिति भन्दै थापा अघि बढ्न खोजेको भन्दै कोइराला पक्ष सशंकित बनेको छ ।

प्रतिक्रिया