बंगलादेशले थप २० मेगावाट बिजुली किन्ने : असारदेखि ६० मेगावाट निर्यात हुने

voiceofgandaki

पोखरा।

बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली किन्ने भएको छ । हाल ४० मेगावाट बिजुली लगिरहेको बंगलादेशले आगामी सिजनदेखि थप २० मेगावाट किन्ने सहमति जनाएको हो । बिहीबार बंगलादेशको ढाकामा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा नेपालका ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज सचिव फर्जाना ममताज सहभागी थिए । यसअघि नेपालका ऊर्जा सहसचिव सन्दीपकुमार देव र बंगलादेशका अतिरिक्त सचिव केएम अली रेजाको संयुक्त कार्यदलले थप बिजुली किन्न सिफारिस गरेको थियो । सचिवस्तरीय बैठकले सोही सिफारिसलाई सदर गरेको हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार थपिने २० मेगावाट बिजुलीको मूल्य पनि पुरानै कायम हुनेछ । ‘हामीले अहिले प्रतियुनिट ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री गरिरहेका छौं,’ देवले भने, ‘अब थपिने बिजुली पनि सोही दरमा बिक्री गर्ने सहमति भएको छ ।’

दुवै देशबिच आवश्यक प्रक्रिया पूरा गरेर आगामी जुन १५ (असार १ गते आसपास) देखि थप बिजुली निर्यात सुरु हुनेछ । योसँगै नेपालबाट बंगलादेश जाने बिजुलीको परिमाण ६० मेगावाट पुग्नेछ ।

नेपालले वर्षायाममा देशभित्र खपत भएर बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । बंगलादेशसँग हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात गर्ने सम्झौता छ । गत कात्तिक ३० गते पहिलो पटक १२ घण्टा बिजुली पठाएर यसको औपचारिक सुरुआत गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबिच गत असोज १७ गते त्रिपक्षीय सम्झौता भएको थियो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै बंगलादेश पुग्छ । यसका लागि ढल्केबर–मुजफ्फरपुर र भारत–बंगलादेशबिचको बेहरामपुर–भेडामारा ४०० केभी प्रसारण लाइन प्रयोग भइरहेको छ ।

प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० मेगावाट बिजुली बंगलादेश पठाउन स्वीकृति पाएको छ । यी आयोजनाको बिजुली भारत निर्यातका लागि पनि स्वीकृत छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म प्राधिकरणले भारत र बंगलादेशमा गरी १४ अर्ब १२ करोड रुपैयाँको बिजुली बेचेको छ । तीन महिनामा १ अर्ब ८४ करोड युनिट विद्युत् निर्यात भएको छ । प्राधिकरणका अनुसार हालसम्म बंगलादेशबाट मात्रै करिब १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ आम्दानी भएको छ । भारतसँग भारतीय रुपैयाँमा र बंगलादेशसँग डलरमा विद्युत् व्यापार भइरहेको छ ।

प्रतिक्रिया