पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीको सेवा प्रवाह र व्यवहारले नै संघीयता प्रणालीको प्रभावकारिता निर्धारण गर्ने बताएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराले सञ्चालन गरेको सेवाकालीन तालिमको समापन समारोहमा आइतबार उनले यस्तो बताएका हुन्।
सहायकस्तर (पाँचौँ/चौथो) सुब्बा र खरिदारका लागि आयोजित ३० कार्यदिने तालिमका ६० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पाण्डेले नागरिकले कर्मचारीकै व्यवहारबाट सरकारलाई चिन्ने बताए। उनले भने, ‘कर्मचारीको व्यवहार र कामबाट नागरिकले सरकार सुन्ने, देख्ने र महसुस गर्ने भएकाले सरल र सहज सेवा प्रवाह गर्नुपर्छ।’ कर्मचारीको कार्यसम्पादनमा मुख्यमन्त्री र प्रदेश सरकारकै अनुहार प्रतिबिम्बित हुने उनको भनाइ छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संस्थालाई आत्मनिर्भर बनाउन मुख्यमन्त्री कार्यालयको सहजीकरण आवश्यक रहेको औंल्याए। उनले क्षमता विकास, नेतृत्व विकास, सुशासन र जवाफदेहिताका विषयमा सूचना प्रविधिमैत्री पाठ्यक्रम परिमार्जन गरिरहेको जानकारी दिए।

कार्यक्रममा गण्डकीको कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले तालिममा सिकेका ज्ञान र सीपले दैनिक कार्यसम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव ऋषिराज आचार्यले प्रविधि अनुकूल सेवा प्रवाहमा जोड दिँदै कानुनसम्मत काममा ढिलासुस्ती गर्न नहुने बताए।
तालिममा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत ६० जना कर्मचारी सहभागी थिए। समापनका अवसरमा प्रशिक्षार्थीका तर्फबाट मोनिका पौडेल र गोविन्द रिजालले अनुभव सुनाएका थिए। सोही समारोहमा प्रतिष्ठानमा कार्यरत उपसचिव प्रभाकर घिमिरे र प्रशासकीय अधिकृत प्रज्ज्वल आचार्यलाई बिदाइ गरिएको थियो।
७ पुस २०८२, सोमबार ०५:४८ मा प्रकाशित