पोखरा ।
नेपाली चलचित्र पुर्खाको थलो आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्रीकृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ । ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशनमा बनेको यो चलचित्र मुनाल फिल्म प्रालिको व्यानरमा निर्माण गरिएको हो । मुनाल फिल्मको व्यानरमा निर्माण गरिएको यो आठौँ चलचित्र हो ।
निर्देशक गुरुङले देश छाडेर विदेशिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेको समयमा त्यसले पार्ने भावनात्मक प्रभाव र पहिचानप्रतिको सम्झनालाई समेटेर चलचित्र निर्माण गरिएको बताएका छन् । त्यस्तै, निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खाप्रेम र थलोप्रतिको आत्मीय सम्बन्ध उजागर गर्ने दाबी गरेकी छन् ।
निर्माणमा कुबिना गुरुङसँगै दिल घले, उत्तरबहादुर गुरुङ, खिमकुमारी गुरुङ र जोगमाया गुरुङ संलग्न छन् । त्यस्तै, पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको जिम्मा सम्हालेका छन् । गणेशमान घले, लक्ष्मी गुरुङ र ओम प्रकाश गुरुङ मुख्य भूमिकामा छन् । डि.बी. गुरुङ, लालशोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तरबहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिमकुमारी गुरुङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरुङ, जोया गुरुङ, सुनदेवी गुरुङलगायत कलाकारहरूको अभिनय छ । गुरुङ चलचित्र क्षेत्रमा छोटो समयमै प्रभाव जमाएका ओम प्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिएका छन् । यो उनको चौथो चलचित्र हो ।
चलचित्रको प्रकाश व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन् । भेषभूषा गोमा गुरुङले तयार गरेकी छन् भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङले गरेका छन् । पाश्र्व संगीत विनोद रसाइलीले दिएका छन् र संगीत संयोजन गमबहादुर गुरुङ (गोरे) र विनोद रसाइलीले गरेका छन् । नृत्य निर्देशन नेत्रबहादुर गुरुङले गरेका छन् भने ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन् ।
निर्माण पक्षका अनुसार, नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन पनि गरिनेछ । चलचित्र जुन १ मा हङकङ र बेलायतमा, र जुलाई ६ मा जापानको योकोहामा सहरमा प्रदर्शन हुने जनाइएको छ ।