७८ लाख घुस प्रकरणमा मुछिएपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा
voiceofgandaki
३१ असार २०८२, मङ्गलबार
काठमाडौं ।
७८ लाख रुपैयाँ घुस लेनदेनको अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गर्दै आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनमा सघाउन पदत्याग गरेको बताएका हुन्।
मन्त्री गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएको उल्लेख गरेका छन्। कर्मचारी सरुवा र नियुक्तिका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि राजीनामा दिन चर्को नैतिक दबाब थियो।
आफ्नो बचाउमा गुप्ताले आफू निर्दोष रहेको र प्रविधिको दुरुपयोगको सिकार भएको दाबी गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ। प्रविधिको उच्चतम् प्रयोगको सिकार अब अरू कोही पनि नबनून् भन्ने अपेक्षा गर्दछु।” उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।
मन्त्री गुप्तामाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र नेकपा (एमाले)का गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न २५ लाख रुपैयाँ घुस मागेको आरोप छ। सोही अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले घटनाबारे अनुसन्धान अघि बढाइसकेको छ।