१६ वर्षपछि फेरि आमनेसामने इन्द्रलाल र महेश, सचिवमा भिड्दै

voiceofgandaki

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा इन्द्रलाल सापकोटाले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूहबाट उम्मेदवार बनेका हुन् ।

यो उम्मेदवारीसँगै एउटा रोचक संयोग जुरेको छ । १६ वर्षअघि युवा संघको नेतृत्वका लागि भिडेका सापकोटा र महेश बस्नेत फेरि एउटै पदमा प्रतिस्पर्धा गर्दै छन् । बस्नेत अहिले अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिवका उम्मेदवार छन् ।

विसं २०६६ मा सिराहामा भएको युवा संघको महाधिवेशनमा सापकोटा र बस्नेत अध्यक्ष पदका लागि भिडेका थिए । त्यतिबेला बस्नेत ओली पक्षबाट र सापकोटा तत्कालीन माधव नेपाल पक्षबाट उम्मेदवार थिए । उक्त चुनावमा बस्नेतले ६९९ मत ल्याएर जित्दा सापकोटाले ५९७ मत पाएका थिए । अहिले १६ वर्षपछि दुवै नेता पार्टीको सचिव पदका लागि आमनेसामने भएका हुन् ।

गण्डकी प्रदेशको राजनीतिमा सापकोटाको भूमिका चर्चामा थियो । एमाले विभाजनको संघारमा पुग्दा गण्डकीमा उनी माधव–झलनाथ पक्षका एक्ला सांसद थिए । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ (हालका उपाध्यक्ष उम्मेदवार) नेतृत्वको सरकार संकटमा पर्दा सापकोटाले ‘फ्लोर क्रस’ गर्ने आँकलन धेरैले गरेका थिए ।

विपक्षी गठबन्धनले उनीमाथि आशा राखेको थियो भने एमाले संस्थापनले उनलाई मन्त्री पदको अफर गरेको थियो । तर सापकोटाले मन्त्री पद अस्वीकार गरे । उनले ‘फ्लोर क्रस’ पनि गरेनन् । यद्यपि उनले संसद् विघटन भए विद्रोह गर्ने चेतावनी भने दिएका थिए ।

‘फ्लोर क्रस गर्छ कि भनेर डराउनु पर्दैन, यो उमेरमा म आफ्नो करिअर धरापमा पार्दिनँ,’ त्यतिबेला उनले भनेका थिए । उनले संसद् विघटनलाई प्रतिगमन भन्दै ओलीको आलोचनासमेत गरेका थिए ।

सापकोटाले २०४२ सालमा अनेरास्ववियुको जिल्ला कमिटीबाट राजनीति सुरु गरेका हुन् । उनी २०४७ मा गाउँ पार्टी कमिटी सचिव र २०५१ देखि युवा संघमा क्रियाशील भए । २०५४ मा जिल्ला उपसचिव, २०६२ मा सचिव हुँदै २०७३ मा जिल्ला अध्यक्ष बनेका सापकोटा २०७८ मा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

अहिले पार्टीमा चाकडी र चाप्लुसी बढेको भन्दै उनले त्यसको विरोधमा उम्मेदवारी दिएको बताए । ‘पार्टीभित्र निष्ठा र मूल्यमान्यता भत्कँदो छ, यसका विरुद्ध हामीजस्ता युवाले आवाज उठाइरहनुपर्छ,’ उनले भने, ‘युवाहरूको हस्तक्षेप हुनुपर्छ भनेर मैले सचिवमा उम्मेदवारी दिएको हुँ ।’

प्रतिक्रिया