लाहाचोकमा एमाले माछापुच्छ्रेको कार्यालय भवन

voiceofgandaki

पोखरा ।

नेकपा (एमाले) माछापुच्छ्रे गाउँपालिका कमिटीको पार्टी कार्यालय निर्माण कार्य सुरुवात भएको छ । पार्टीको दोस्रो अधिवेशनबाट निर्वाचित कमिटीले माछापुच्छ्रे ४ लाहाचोकमा पार्टी कार्यालय निर्माण गर्न थालेको अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पार्टीका पुराना नेता, भूमिगत कालका सेल्टरदाता भागिरथ दवाडीले भवनको शिलान्यास गरे । 

अध्यक्ष गुरुङले निर्वाचित पदाधिकारी तथा कार्यसमितिको पदस्थापना समारोहमा पार्टीको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो कार्यकालमा पार्टीको आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना अगाडी सारेका थिए ।  

उनले पार्टी सदस्य र शुभेच्छुकहरुको सहयोगमा भवन बनाउने योजना सुनाए । ‘पार्टीको नयाँ भवनका लागि विभिन्न तह र तप्कामा रहेका एमालेका नेता, कार्यकर्ता, शुभेच्छुकसँग कमिटीले सहयोगको अपेक्षा गरेको छ,’ उनले भने, ‘धेरै भन्दा धेरै नेता तथा कार्यकर्ताको सहयोगमा भवन समयमै सम्पन्न हुने छ ।’ उनले निर्माण गर्न लागेको भवनको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको बताए । 

भवन शिलन्यास कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्यहरु जगन्नाथ बास्तोला, समबहादुर गुरुङ, मिमबहादुर विश्वकर्मा, प्रदेश कमिटीका सल्लाहकार परिषद्का सदस्य नन्दलाल अधिकारी, कर्णबहादुर गुरुङ, महेश्वर पोखरेल, पृथ्वीनारायण क्याम्पसका स्ववियु सभापति विष्णुप्रसाद पोखरेल, स्ववियुका सदस्य प्रचण्डशक्ति गुरुङ, एमाले माछापुच्छे« गाउँपालिका कमिटीका सचिव ऋषि गौतम लगायतले पार्टीको भवन निर्माणको बारेमा बोलेका थिए । 

कार्यक्रममा भवन निर्माण तथा जग्गा व्यवस्थापन कार्यमा महत्ववपूर्ण भूमिका खेलेका नेता तथा कार्यकर्तालाई सम्मान गरिएको छ । कार्यक्रममा सहभागी पार्टीका अग्रज नेता, गाउँपालिका कमिटी, वडा कमिटी र जनसंगठनका अध्यक्षहरुले भवन निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए । 


प्रतिक्रिया