कांग्रेस महाधिवेशन पुस २६ देखि २८ सम्म : तल्ला तहको अधिवेशन १६ गतेबाटै सुरु हुने

voiceofgandaki

काठमाडौं ।

नेपाली कांग्रेसले आफ्नो १५ औं केन्द्रीय महाधिवेशनको मिति टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । लामो रस्साकस्सीपछि बैठकले महाधिवेशनको मितिसहितको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार तल्ला तहको अधिवेशन पुस १६ गतेबाटै सुरु हुनेछ । पारित कार्यतालिका अनुसार गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते हुनेछन् । गाउँ तथा नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते सम्पन्न गरिनेछ । यस्तै सातवटै प्रदेशको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय भएको छ ।

महाधिवेशनको मुख्य आधार मानिने क्रियाशील सदस्यता वितरण र नवीकरणको समयसीमा पनि बैठकले तोकेको छ । केन्द्रले मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्नेछ । जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ फारम पठाउने म्याद मंसिर २४ गतेसम्म तोकिएको छ ।

पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा सदस्यताको काम सकेर पुस १४ गतेभित्र अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ । प्रवक्ता महतले नयाँ सदस्यता वितरणमा समावेशिता, युवा पुस्ता र अन्य दलबाट आएकालाई समेट्ने व्यवस्था गरिएको बताए । विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन भने पुस १५ गतेभित्र गरिसक्नुपर्नेछ ।

महाधिवेशन तयारीका लागि आवश्यक विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति र केन्द्रीय निर्वाचन समिति गठन गरिनेछ । यी समितिहरूको गठन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आपसी परामर्शमा गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया