पोखरा । बडादशैंको महत्त्वपूर्ण दिन फूलपाती पर्वको अवसरमा सोमबार पोखरामा परम्परागत शोभायात्रा आयोजना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा मानव अधिकार चोकदेखि बिन्ध्यवासिनी मन्दिर प्राङ्गणसम्म बाजागाजासहितको फुलपाती शोभायात्रा सम्पन्न भएको हो।

शोभायात्रामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरू साथै सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
यस अवसरमा कास्कीका प्रमुख शक्तिपीठ बिन्ध्यवासिनी मन्दिरमा प्रमुख जिल्ला अधिकारी शर्मा, प्रहरी प्रमुख कार्की तथा अन्य सुरक्षा निकायका अधिकृतहरूले स्वस्तिशान्ति पूजा गर्दै नवदुर्गा भगवतीलाई चारै सुरक्षा निकायका तर्फबाट सलामी अर्पण गरेका थिए।
फुलपाती भित्र्याएसँगै जिल्लामा शान्ति, सुरक्षा, सुख र समृद्धिको कामना गरिएको छ। प्रमुख जिल्ला अधिकारी शर्माले सम्पूर्ण कास्केली नागरिकलाई भयरहित वातावरणमा खुशीपूर्वक दशैं मनाउन शुभकामना दिँदै शान्ति सुरक्षा कायम गर्न सबैको सहयोग अपेक्षित रहेको बताइन्।

