सृजनाचोकमा स्कुटर ठक्करबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मृत्यु, चालक पक्राउ
voiceofgandaki
१७ जेठ २०८२, शुक्रबार
पोखरा ।
पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मादी गाउँपालिका–५, सिक्लेस घर भई पोखरामा बसोबास गर्दै आएका ईच्छा क्षेत्री भन्ने विष्णु बहादुर बुढाथोकी (उमेर खुलाइएको छैन) लाई २०७२ जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा अज्ञात स्कुटरले ठक्कर दिई फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी बैदामबाट खटिएको टोलीले गम्भीर घाइते बुढाथोकीलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको थियो। तर, उपचारकै क्रममा २०७२ जेठ १४ गते उहाँको निधन भएको हो।
प्रहरी अनुसन्धान अनुसार ठक्कर दिने स्कुटर चालक फरार रहेका बेला खोजतलासको क्रममा काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिर राज महर्जनलाई पक्राउ गरिएको छ। उनलाई पोखरा महानगरपालिका–११ स्थित फुलवारी चोकबाट उक्त दिनै (जेठ १४ गते) पक्राउ गरिएको हो। महर्जनसँगै प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको कास्की प्रहरीले जनाएको छ।
पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।