बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा बुद्धिबहादुर कुँवर

voiceofgandaki

पोखरा। बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराको २७औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।


एसोसिएसनको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन्। सदस्यहरूमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सञ्जय श्रेष्ठ, प्रकाश पौडेल दिनेश गुरुङ चुनिएका छन्।


नवनिर्वाचित अध्यक्ष कुँवरले संस्थाको व्यावसायिक हकहितका विषयमा ध्यान दिँदै संस्थाको छविलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।


त्यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो, उनले भने। मन्त्री थापाले उद्योगी व्यवसायीहरूलाई भरोसा आधारका रूपमा परिभाषित गर्दै प्रदेश सरकारले गरेका प्रयासहरूको अपेक्षित प्रचारप्रसार नहुँदा जनचेतनामा ती काम ओझेलमा परेको स्पष्ट पारे।


उद्यमशील युवाहरूलाई नेपालमै लगानी गर्न प्रेरित गर्दै हामीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको सीप विकास तालिम केन्द्रबाट १९ किसिमका तालिम सञ्चालन गर्दै आएका छौँ, उनले जानकारी गराए। तालिम लिएर स्वदेशमा नै उद्यम वा व्यवसाय गर्न चाहने युवालाई प्रदेश सरकारले बीउपुँजी तथा बैंक ऋणको ५० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याएको उनको भनाइ छ।


बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री थापाले व्यापार प्रवर्द्धन, व्यावसायिक एकता सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाको प्रयासको प्रशंसा गरे। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आफू निर्वाचित भएर हालसम्म संघले गरेका कामहरूबारे जानकारी गराउँदै पोखरा उद्योग वाणिज्य संघ सधैँ व्यवसायी साथीहरूको सुझावअनुसार अगाडि बढ्ने बताए।


पोखरा महानगरपालिका  का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।


संस्थाका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले एसोसिएसन आज यो अवस्थासम्म आएकोमा आफूलाई निकै खुसी लागेको बताउँदै बुद्ध विशाल बजारभित्रका व्यावसायिक प्रतिष्ठान भएका व्यवसायी साथीहरूलाई मात्र विशाल बजारको माया हुने तर बाहिरी व्यक्तिहरूले कहिल्यै पनि विशाल बजारको हितमा काम नगर्ने बताए। एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले विशाल बजारको हितमा काम गर्न सबैलाई आग्रह गरे।


बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष इन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा, सनातन धर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु लगायतले बोलेका थिए। कार्यक्रममा उत्कृष्ट सदस्य तथा पुराना व्यवसायीलाई सम्मान गरिएको थियो।

 

प्रतिक्रिया