वडा भवन पुनर्निर्माणमा जुट्यो पोखरा १२, पुनर्निर्माण संयोजकमा समाजसेवी टीकाबहादुर कार्की

voiceofgandaki


पोखरा ।  

जेन-जी आन्दोलनले पोखरा महानगरपालिका सहितका वडामा सार्वजनिक सेवा प्रवाहमा गम्भीर अवरोध ल्याएपछि वडा नं. १२ ले आपतकालीन पुनर्निर्माण योजना अगाडि सारेको छ ।

सोहीअनुसार टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीय समाजसेवी तथा संघ-संस्थाको भेलाले वडास्तरीय पुनर्निर्माण मूल समितिको संयोजकमा समाजसेवी टिका बहादुर कार्की चयन भएका छन ।


गत साता भएको जेन-जि आन्दोलनका क्रममा वडा नं. १२ को कार्यालयमा भीषण तोडफोड र आगजनी भएको थियो । कार्यालयका सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएका छन । भवनका झ्यालढोका, सिसा र पर्खालमा क्षति पुगेको छ ।

स्वास्थ्य केन्द्र र सडक संरचनाहरु पनि आंशिकरूपमा क्षतिग्रस्त भएका छन । वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार, “हामीले प्राथमिकता अनुसार मर्मत सुरु गर्ने छौं । वडा कार्यालय सञ्चालनमा ल्याउने पहिलो लक्ष्य हो । मूल समितिसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं ।


पुनर्निर्माण कार्य प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको मूल समितिको संयोजकमा टिका बहादुर कार्की, सचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा लक्ष्मी कोईराला र सदस्यहरू डा अनिल सुवेदी, मिनगुरुङ, दानबहादुर बस्नेत र विरबहादुर थापा छन् । स्थानीय बासिन्दा सुशील केसीले भने, “हामी आफैंले आफ्नो वडा बनाउनु पर्छ भन्ने सोचका साथ जुटेका छौं । हामीलाई आशा छ, राज्यको साथ पनि पाइन्छ ।”

वडा
नं. १२ को सक्रियता र तत्काल प्रतिक्रिया अन्य वडाहरुका लागि पनि प्रेरणादायी उदाहरण बन्न थालेको छ । पुनर्निर्माणको प्रारम्भिक पहलले समुदायमा सकारात्मक ऊर्जा थपेको छ ।

प्रतिक्रिया