ईसाई धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै, देशभर सार्वजनिक बिदा

voiceofgandaki

काठमाडौं ।  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज (बिहीबार) देशभर ‘क्रिसमस डे’ मनाइँदै छ । ईसाई धर्मावलम्बीहरूले आजको दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन् । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखमा इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमको कोखबाट उनको जन्म भएको धार्मिक विश्वास छ ।

नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले येशुले मानव समुदायलाई तीन मुख्य खुसियाली दिएको बताए । मानिसलाई प्रेम गर्न, शान्ति स्थापना गर्न र मुक्ति दिन आएकाले आजको दिनलाई प्रेम, शान्ति र मुक्ति दिवसका रूपमा मनाइने उनले जानकारी दिए ।

नेपालमा विसं २०६३ पछि महासंघले यसलाई महोत्सवका रूपमा मनाउन थालेको हो । महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव–२०८२’ आयोजना गरिएको छ । कार्यक्रममा सरकारी प्रतिनिधि, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहने जनाइएको छ ।

सरकारले विसं २०६३ देखि २०७४ सम्म यो दिवसमा सार्वजनिक बिदा दिएको थियो । विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई लागू हुने गरी सार्वजनिक बिदा दिन थालिएको हो ।

क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा र चितवनको सौराहालगायत पर्यटकीय क्षेत्रमा विशेष रौनक छ । बजार, होटल र ठूला व्यापारिक मलहरू झिलिमिली बत्ती र ‘क्रिसमस ट्रि’ ले सजाइएको छ ।

महासंघका अनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी छन् । देशभर १३ हजारभन्दा बढी चर्च रहेको महासंघको दाबी छ ।

प्रतिक्रिया