पोखरा,।
गण्डकी प्रदेशको कास्की जिल्लास्थित मादी गाउँपालिका वडा नम्बर ६ चासुमा सुपरमादी हाइड्रोपावरको हाइटेन्सन लाइनको लापरबाहीका कारण एक बालक गम्भीर घाइते भएका छन् । स्थानीय १२ कक्षामा अध्ययनरत विजय बराल मकैको ढोड फाल्ने क्रममा हाइटेन्सन लाइनमा परेर घाइते भएका हुन् ।
गण्डकी प्रदेश सभाको असार २३ सोमबार गतेको शून्य समयमा बोल्दै सांसद वेदबहादुर गुरुङ (श्याम) ले सुपरमादी हाइड्रोपावरको हाइटेन्सन लाइन सुरक्षा मापदण्डविपरीत अत्यन्त होचो रहेको र यसको सुधार नगरी विद्युत् प्रसारण भइरहेको बताए । उनले उक्त लाइनको सुधार नगरेसम्म प्रसारण रोक्न माग गरे । सिक्लेस र नामर्जुङ हाइड्रोपावरको हाइटेन्सन लाइन पनि धेरै ठाउँमा सुरक्षा मापदण्डविपरीत रहेको उनले औंल्याए । घाइते बालक विजय बराल खेतमा घाँस बोक्ने क्रममा हाइटेन्सन लाइनमा परेका हुन् ।
हाइटेन्सन लाइनको करेन्ट लाग्दा उनको शरीरको ५० प्रतिशत भाग जलेको छ । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।
सांसद गुरुङले हाइड्रोपावर कम्पनीहरूको चरम लापरबाहीले स्थानीयको ज्यान जोखिममा परेको भन्दै तत्काल सुधारात्मक कदम चाल्न र लापरबाही गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
यस्तै सोमबारको प्रदेश सभा बैठकको सुन्य समयमा बोल्दै सांसदहरूले जनताका आधारभूत आवश्यकता, पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको जोखिमबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रकाश बरालले असार ५ गतेको बाढीले अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ लुयरास्थित साधिखोलामा रहेको कजवे बगाएको बताए । यसले विद्यार्थी र स्थानीयको आवागमनमा ठूलो असुविधा भएको उनको भनाइ थियो । उनले यो समस्याको समाधानका लागि प्रदेश सरकारको तत्काल ध्यानाकर्षण गराए ।
सांसद भीमबहादुर कार्कीले शिक्षालाई सभ्यता, चेतना, समृद्धि र प्रविधिको आधार मानेर यसको महत्वमाथि जोड दिए । उनले भर्खरै प्रकाशित एसइई नतिजामा सुधार भएको र धेरै विद्यार्थीले राम्रो अंक प्राप्त गरेकोमा बधाई दिए । विशेषगरी सरकारी विद्यालयका विद्यार्थीको नतिजा सुधार भएको उनको भनाइ थियो । सुशीला सिम्खडाले बर्खायाममा गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रका जनता बाढी, पहिरो र डुबानको त्रासमा रहेको बताइन् । उनले जनताको जिम्मेवारी सरकारले लिनुपर्ने र स्थानीय सरकारसँग मिलेर जनताको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरिन् ।
श्यामराज महतले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ राइपुर बिसौनामा १५ बेडको स्वास्थ्य चौकी निर्माणका लागि १९ करोड बजेट विनियोजन भएको तर यो वर्ष बजेट नपरेको भन्दै सरकारसँग जवाफ मागे । उनले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । हरिबहादुर भण्डारीले सांसदहरूले शून्य समयमा जनताका मुद्दा उठाउँदा पनि सरकारबाट जवाफ नपाएको गुनासो गरे । उनले व्यक्तिगतभन्दा जनताका समस्यालाई प्राथमिकता दिएको तर ती मुद्दाको समाधान र जवाफ कहिले प्राप्त हुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए ।