निर्वाचनमा अनपेक्षित नतिजापछि गगन थापालाई गोपालमान श्रेष्ठको पत्र : ‘राजीनामा होइन, पार्टी रूपान्तरणमा जुटौँ’

voiceofgandaki

काठमाडौ ।  भर्खरै सम्पन्न सङ्घीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसले अनपेक्षित हार व्यहोरेपछि उठेका प्रश्न र दबाबका बीच कांग्रेसका अग्रज नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठले नेता गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन् ।

बुधबार एक खुलापत्र जारी गर्दै नेता श्रेष्ठले निर्वाचनको कठिन घडीमा राजीनामा दिनु वा माग्नु पार्टी र देश दुवैको हितमा नहुने भन्दै थापालाई ढाडस दिएका हुन् । उनले थापाको नेतृत्वमा नयाँ ऊर्जा र रूपान्तरणको बाटो देखेको भन्दै सबै कांग्रेसीजनलाई एकढिक्का भएर साथ दिन आह्वानसमेत गरेका छन् ।

‘प्रिय गगन बाबु’ सम्बोधन गर्दै लेखिएको पत्रमा श्रेष्ठले निर्वाचनको परिणाम कांग्रेसको अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन र राजनीतिक अस्थिरताको अन्त्य नै मुख्य कुरा भएको उल्लेख गरेका छन् ।

‘हारलाई सिकाइ र चेतावनीका रूपमा लिऔँ’

पूर्वउपसभापति श्रेष्ठले निर्वाचनको नतिजालाई नेतृत्वको असफलता मात्र मान्न नहुने बताएका छन् । यो नतिजा जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनी भएको उनको निष्कर्ष छ ।

"यस निर्वाचनले नेपाली कांग्रेसलाई समयसापेक्ष बन्ने, युवाहरूको आकांक्षा आत्मसात गर्ने र सङ्गठनात्मक रूपान्तरण गर्ने गहिरो सन्देश दिएको छ," श्रेष्ठले पत्रमा लेखेका छन्, "अब निर्वाचनको सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि गाउँ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म सङ्गठन सुदृढीकरण गर्ने सङ्कल्पका साथ अघि बढ्नु अपरिहार्य छ ।"

'तपाईंको साहस र दृष्टिले हामी दृढ छौँ'

निर्वाचनमा पार्टीको कमजोर प्रदर्शन र थापा स्वयम्‌को पराजयपछि नैतिक दायित्व लिँदै नेतृत्वबाट राजीनामा आउन सक्ने वा माग्न सक्ने सम्भावनालाई लक्षित गर्दै श्रेष्ठले त्यसो नगर्न आग्रह गरेका हुन् ।

उनले थापाले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले आफूहरूलाई अझै दृढ बनाएको बताएका छन् । "यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन," श्रेष्ठले अगाडि भनेका छन्, "बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ ।"

पत्रको अन्त्यमा नेता श्रेष्ठले सङ्कटको यस घडीमा थापालाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै मिलेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञासमेत गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पुराना ठूला दलहरूले नराम्रो पराजय भोगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार बहुमततर्फ अग्रता कायम गरेको छ । सर्लाही–४ बाट उम्मेदवार बनेका गगन थापा स्वयम्‌ पनि रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग फराकिलो मतान्तरले पराजित भएका थिए । निर्वाचनको यो धक्कापछि कांग्रेसभित्र नेतृत्वको समीक्षा र आगामी बाटोबारे बहस सुरु भएको समयमा अग्रज नेता श्रेष्ठको यो पत्र सार्वजनिक भएको हो ।

प्रतिक्रिया