पोखरा– पोखराको हेमजामा जारी हेमजा साहित्य महोत्सवका क्रममा वरिष्ठ भाषाविद् एवं कविवर मुकुन्दशरण उपाध्यायको भव्य नागरिक अभिनन्दन गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा भएको महोत्सवको दोस्रो दिन शनिबार उपाध्यायलाई उनको जन्मथलोमा रथारोहण गराइएको हो ।
हेमजास्थित लामाचौताराबाट सुरु भएको रथयात्रा साझाचोक, नहरचोक र मिलनचोक हुँदै महोत्सवस्थल ज्ञानसागर एकेडेमीमा पुगेर टुंगिएको थियो । नागरिक अभिनन्दन समितिले आयोजना गरेको रथारोहणमा स्थानीय आमा समूह, भजन टोली र विद्यार्थीहरू बिहान १० बजेदेखि नै मौलिक पोसाक र विभिन्न मुकुटमा सजिएर सहभागी भए ।
समारोहमा पोखरा महानगरपालिकाका प्रमुख घनराज आचार्य, मूल समारोह समितिका पदाधिकारी, प्राज्ञ हरिदेवी कोइराला, छन्दनायक माधव वियोगी लगायतले उपाध्यायलाई ताम्रपत्र, दोसल्ला र माला लगाएर सम्मान गरे । रथारोहण र सम्मानबाट भावविह्वल भएका उपाध्यायका आँखामा खुसीका आँशु देखिएका थिए ।
सम्मान ग्रहण गरेपछि उपाध्यायले आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै नेपाली भाषा, साहित्य र व्याकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।
प्रमुख अतिथि मेयर आचार्यले उपाध्यायलाई अभिनन्दन गर्दा सिंगो नेपाली भाषा र साहित्य नै सम्मानित भएको धारणा राखे । ‘यो नागरिकको दिलदेखिको सम्मान हो, पोखरा कविहरूको सहर पनि हो,’ आचार्यले भने, ‘उपाध्यायको ‘प्राकृत पोखरा’ कृतिले पोखराको प्रकृति सौन्दर्य विश्वसामु पस्किएको छ ।’ उनले साहित्यलाई अक्षरको खेतीको संज्ञा दिँदै आफूले उपाध्यायलाई तीनपटक अभिनन्दन गर्ने मौका पाएको स्मरण गरे ।
कार्यक्रममा छन्दनायक माधव वियोगीले उपाध्यायको भाषा र व्याकरण सुधार अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै ‘प्राकृत पोखरा’ लाई अंग्रेजीकरण गर्न सुझाव दिए । उनले राज्यले साहित्यको उन्नयनमा लगानी गर्नुपर्ने बताए ।
वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार डा. नवराज लम्सालले स्रष्टा भगवानभन्दा ठूला हुने भन्दै उपाध्यायलाई प्रकृतिलाई मानवीकरण गर्ने स्रष्टाको रूपमा चित्रण गरे । प्राडा कुसुमाकर न्यौपानेले उपाध्यायको जीवन नै एउटा पाठशाला भएको बताए ।
राजनीतिज्ञ शुक्रराज शर्माले नयाँ पुस्ताले उपाध्यायले देखाएको मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए । मुकुन्दशरणका छोरा महेन्द्र पौडेलले पिताप्रतिको सम्मानलाई समग्र साहित्यप्रतिको सम्मानका रूपमा लिएको बताए । मूल समारोह समितिका अध्यक्ष शंकरमणि त्रिपाठीले हेमजा ‘आलु गाउँ’ सँगै अब ‘काव्यनगरी’ पनि भएको चर्चा गरे ।
समारोहमा शिव त्रिपाठीको ‘जिन्दगीका सय टुक्रा’, पण्डित माधवशरण पौडेलको ‘नेपाल के कम छ र ?’ कृति तथा प्रेमराज पौडेलको ‘एक्लो रात’ म्युजिक भिडियो विमोचन गरिएको थियो । कार्यक्रममा देवीस्थान र मातृकेश्वर भजन समूहसहित कलाकारहरू ऋषि अधिकारी, सुरेशरमण अधिकारी, होम पौडेल, प्रकाश रेग्मीलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।
पहिलो दिन साहित्यका विविध आयाममा बहस
शुक्रबारदेखि सुरु भएको महोत्सवको पहिलो दिन नाटक, महाकाव्य, आख्यान, मुक्तक र कविता विधामा परिसंवाद भएको थियो । देशभरबाट आएका एक सयभन्दा बढी स्रष्टा सहभागी कार्यक्रममा नेपाली माटो सुहाउँदो साहित्य सिर्जनामा जोड दिइएको थियो ।
नाटक र रंगमञ्चबारे प्राडा रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे भने महाकाव्य लेखनबारे डा. नवराज लम्साल, माधव वियोगी र डा. रमेश शुभेच्छुबीच संवाद भयो । आख्यान विधामा ज्ञानु अधिकारी, डा. रजनी ढकाल र तीर्थ गुरुङले चर्चा गरेका थिए ।
को हुन् मुकुन्दशरण ?
विक्रम संवत् १९९७ वैशाख ५ गते हेमजामा जन्मिएका उपाध्याय हाल काठमाडौँको टंगालमा बस्दै आएका छन् । मदन पुरस्कार प्राप्त कृति ‘प्राकृत पोखरा’ सहित उनका ‘वरदान’ (उपन्यास), ‘निम्बार्क चरितम्’ (संस्कृत काव्य), ‘व्याकरण चिन्तन’, ‘अक्षरप्रज्ञा’ लगायत दर्जनौँ कृति प्रकाशित छन् । उनका व्याकरण विज्ञान, हिन्दी–नेपाली शब्दकोश लगायतका कृति प्रकाशोन्मुख छन् ।
२२ मङ्सिर २०८२, आईतबार ०९:२२ मा प्रकाशित