काठमाडौँ । सिंहदरवारमा बसेको सचिवस्तरीय बैठकले हालको कठिन परिस्थितिमा सार्वजनिक खर्च घटाउने ठोस निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा भएको बैठकले अबदेखि कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने व्यवस्था गरेको छ ।
त्यसैगरी, सेमिनार, गोष्ठी, कार्यशाला वा अन्तरक्रिया जस्ता कार्यक्रम अब तारे होटेलमा होइन, सरकारी भवन र हलमै गर्ने निर्णय भएको छ । यसलाई प्रदेश र स्थानीय तहले पनि अभ्यास गर्नुपर्ने बैठकको निष्कर्ष छ ।
चालु आर्थिक वर्षमा टुक्रे आयोजना कार्यान्वयन नगरी त्यहाँ छुट्याइएको रकम क्षतिग्रस्त संरचना पुनर्निर्माण, मर्मतसम्भार र उपकरण खरिदमा प्रयोग गरिनेछ । सिंहदरवार क्षेत्रमा जलेका वा ध्वस्त भएका सवारीसाधन, फर्निचर र अन्य सामग्रीलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संकलन गरी आर्थिक कार्यविधिअनुसार लिलामी वा नष्ट गर्ने तयारी गरिएको छ ।
बैठकले पुनर्निर्माण र खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ । सार्वजनिक खरिद ऐनले व्यवहारमा अप्ठ्यारो पुर्याए आवश्यक परे नियमावली संशोधन गर्ने तयारीसमेत गरिएको छ । चाडपर्व नजिकिँदै आएकाले खाद्यान्न आपूर्ति, कालोबजारी नियन्त्रण र यातायात व्यवस्थापनमा सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।
बैठकले स्पष्ट पारेको छ– मुलुकको विषम परिस्थितिमा अनावश्यक खर्च कटौती गरी राज्यको स्रोत पुनःस्थापनामा प्रयोग गर्नुपर्छ । पछिल्ला वर्षमा महँगा होटलमा सेमिनार र बैठक गर्दा करोडौँ खर्चिएको तर खास उपलब्धि नदेखिएको आलोचना भइरहेकै बेला सरकारी हलमै कार्यक्रम गर्दा ठूलो बचत हुने विश्वास गरिएको छ ।