काठमाडौं । वेरीबी बिजनेस एन्ड टुरिजम एशोसिएसन (डब्लुबिटीए) ले आयोजना गरेको ‘वेरीबी एसिया–प्यासिफिक एक्स्पो २०२५’ र ‘मेड इन नेपाल’ प्रवर्द्धन कार्यक्रम अस्ट्रेलियामा सम्पन्न भएको छ । विन्डम सिटी काउन्सिलको परिसरमा ‘एसिया–प्यासिफिकमा नवीनता, संस्कृति र सम्बन्ध’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम नेपाली लेखक दान घिसिङद्वारा लिखित नयाँ पुस्तकको विमोचनसँगै यसै साता सम्पन्न भएको हो ।
क्षेत्रीय सरकारी प्रतिनिधि, व्यवसायी, प्राज्ञिक व्यक्तित्व र सामुदायिक अगुवाहरूको उपस्थिति रहेको कार्यक्रममा सांसद क्याथथिन म्याथ्युज–वार्डले घिसिङको पुस्तक ‘पावर अफ ह्याबिट्स’ को विमोचन गरिन् । उनले घिसिङको सिर्जनात्मक दृष्टिकोणको प्रशंसा गरिन् । काउन्सिलर जेनी बरेराको मन्तव्यबाट सुरु भएको एक्स्पोमा व्यापार, प्रविधि, संस्कृति र पर्यटनमा एसिया–प्यासिफिक सहकार्यको बढ्दो महत्त्वमाथि जोड दिइएको थियो ।
कार्यक्रममा नेपालबाट सहभागी गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पनि सम्बोधन गरेका थिए । सो अवसरमा सार्वजनिक सेवा, शिक्षा, प्रविधि र सामुदायिक नेतृत्वमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा काउन्सिलरहरू जेनी बरेरा, ज्यास्मिन हिल्स, ल्यारी झाओ र क्रिस माइल्स लगायत अन्य प्रतिष्ठित सामुदायिक व्यक्तित्व र पेसाकर्मीहरु थिए ।
एक्स्पोमा मेलबर्न विश्वविद्यालय, फेडरेसन विश्वविद्यालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरू सहभागी उच्चस्तरीय प्यानल छलफल समेत आयोजना गरिएको थियो । छलफल शिक्षा, उद्यमशीलता, सांस्कृतिक कूटनीति र उदाउँदा क्षेत्रीय अवसरहरूमा केन्द्रित रह्यो । सांस्कृतिक प्रस्तुति, बीटुबी नेटवर्किङ सत्र, बहुसांस्कृतिक अन्तरक्रिया र विश्वव्यापी बजारका स्टलहरूले कार्यक्रमलाई थप रोचक बनाएका थिए ।
कार्यक्रम संयोजक तथा लेखक दान घिसिङले एक्स्पोले नेपाल र अस्ट्रेलियाबीच आर्थिक, सांस्कृतिक, प्राविधिक र सामुदायिक आदानप्रदानमा अर्थपूर्ण भूमिका खेलेको बताउँदै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरे ।
९ मङ्सिर २०८२, सोमबार ०७:१५ मा प्रकाशित