काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको खोजी सुरु गरेको छ । उम्मेदवार छनोट समितिले आइतबार एक सूचना जारी गर्दै प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुक र योग्यता पुगेका पार्टी सदस्यहरूसँग आवेदन माग गरेको हो ।
समितिका संयोजक विपिन आचार्यका अनुसार आकांक्षीहरूले पार्टीको आधिकारिक मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । तर, आर्थिक अवस्था कमजोर भएका विपन्न आवेदकको हकमा भने आवश्यक कागजात हेरेर शुल्क मिनाहा गर्न सकिने आचार्यले जानकारी दिए ।
रास्वपाले यसअघि नै मंसिर १८ गते समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरिसकेको छ, जसको म्याद मंसिर २५ गतेसम्म रहेको छ । पार्टीले ‘प्राइमेरी इलेक्सन’ (आन्तरिक निर्वाचन) मार्फत उम्मेदवार छनोट गर्ने लोकतान्त्रिक अभ्यास गर्दै आएको छ ।
‘रविको सट्टा म जेल बस्न तयार छु’
पार्टीले चुनावी तयारी थालिरहँदा ‘हाम्रो पार्टी नेपाल’ का अध्यक्ष खगेन्द्र सुनारले भने रास्वपा सभापति रवि लामिछानेलाई जेलमा भेटेर ऐक्यबद्धता जनाएका छन् । आइतबार नक्खु कारागार पुगेर लामिछानेलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले कांग्रेस र एमालेले रविमाथि प्रतिशोध साँधेको आरोप लगाए ।
‘त्यही आगोले रवि लामिछानेलाई पोल्ने, त्यही आगोले कांग्रेस–एमालेका सहकारी ठगहरूलाई पोल्ने कि नपोल्ने ? त्यही पानीले रवि लामिछानेलाई डुबाउने, त्यही पानीले कांग्रेस–एमालेका ठगहरूलाई डुबाउने कि नडुबाउने ?’ प्रश्न गर्दै सुनारले भने, ‘अदालत जनताको हुनुपर्छ । निष्पक्ष छानबिन गरिनुपर्छ ।’
सुनारले देश संकटमा रहेका बेला रविजस्तो नेतृत्व आवश्यक रहेको भन्दै कानुनले मिल्ने भए उनको सट्टा आफू जेल बस्न तयार रहेको बताए । ‘मलाई भित्र राखेर लामिछानेलाई छोडिदिन मिल्छ भने छोडिदिनुस्,’ उनले भने ।
नयाँ र वैकल्पिक शक्तिहरूबीच एकता आवश्यक रहेकोमा उनले जोड दिए । आगामी निर्वाचनमा नयाँ दलहरू एकताबद्ध भएर जानुपर्ने सन्दर्भमा लामिछानेको धारणा बुझ्न आफू कारागार गएको उनले स्पष्ट पारे । ‘उहाँहरू बागमतीबाट आउनुभएको छ, हामी कर्णालीबाट आएका छौँ । एउटा बिन्दुमा भेट हुन्छ, स्वाभाविक रूपमा मिलेर जान्छौँ,’ सुनारले भने ।
२३ मङ्सिर २०८२, सोमबार १२:२४ मा प्रकाशित