प्रहरी हत्यामा संलग्न बाहेकका जेनजी प्रदर्शनकारीलाई रिहा गर्न गृहको सर्कुलर

voiceofgandaki

काठमाडौँ ।


भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा पक्राउ परेकालाई रिहा गर्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा देशभरका प्रहरी कार्यालयमा थुनामा रहेकालाई ‘हाजिर जमानी’ मा छाड्न भनिएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार आरोपीहरूलाई छाड्न ‘गोप्य सर्कुलर’ पठाइएको छ । तर, सबै रिहा हुने छैनन् । काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा प्रहरी हत्यामा संलग्नलाई भने छाडिने छैन । उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले हत्यामा संलग्नबाहेक अरूलाई रिहा गर्न निर्देशन आएको पुष्टि गरे । भदौ २४ को प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ ।

यसअघि असोज ९ मा पनि गृह मन्त्रालयले प्रदर्शनमा संलग्नलाई ‘स्क्रिनिङ’ गरेर रिहा गर्न निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले पक्राउ परेकालाई हाजिर जमानीमा छाडेको थियो । जेनजीसँगको सम्झौतापछि गृहले दोस्रोपटक यस्तो आदेश दिएको हो । सरकार र जेनजी अगुवाबीच मंसिर २४ मा १० बुँदे सम्झौता भएको थियो । सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण मुद्दा चलाइएका व्यक्तिको उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन गर्ने उल्लेख छ ।

स्क्रिनिङ गर्दा ज्यान मार्ने कसुर वा संगठित अपराधमा संलग्न नदेखिए तत्काल थुनामुक्त गर्न र मुद्दा फिर्ता लिन सिफारिस गर्ने सहमति भएको थियो । सम्झौताका एक मस्यौदाकार सरकारी अधिकृतका अनुसार ज्यान मार्ने र संगठित अपराधबाहेक ढुंगा हानेको वा प्रतिरोधका घटनामा मुद्दा नचलाउने सहमति थियो । तर, स्क्रिनिङ नै नगरी कसुरदारलाई छाड्न सर्कुलर आएपछि दण्डहीनता बढ्ने भन्दै प्रहरी अधिकृतहरूले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया